हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार धान दिवस कार्यक्रम गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा मउवा संघको कृषि प्रवद्र्धन समितिको संयोजनमा मनहरी–५, डिल्लीपुरमा हिमालयन कृषि तथा पशुपालन फार्ममा धान रोपाईं गरी मनाइएको हो ।
मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षता र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पालिकाका अध्यक्ष कालाखेतीले मनहरीको हिमालयन कृषि तथा पशुपालन फार्म उदाहरणीय रहेको, आत्मनिर्भर हुन उक्त फार्मबाट प्रेरणा लिन सकिने, मनहरीले कृषि विमा, बाली विमा गरेर किसानलाई लगानी सुरक्षा प्रदान गरिरहेको, मनहरीमा प्रतिदिन १५ हजार लिटर दूध उत्पादन भइरहेको जस्ता भनाइ राखे ।
कार्यक्रममा संघ अध्यक्ष रानाभाटले बाँझो जमिनलाई कृषिका लागि उपयोगमा ल्याउनुपर्ने, कृषिक्षेत्रलाई सबैले सघाउनुपर्ने, कृषिक्षेत्रले आत्मनिर्भर अर्थतन्त्रलाई टेवा पु¥याउने, मउवा संघले कृषिसम्बन्धि कार्यक्रमहरु भविष्यमा पनि गरिरहने बताए । मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले मकवानपुर जिल्लाको पश्चिम क्षेत्र कृषिलाई जोड दिइएकोे, जसमा मनहरी–५ मा कृषि, दूध उत्पादन तथा पशुपालनको लागि अग्रणी रहेको बताउँदै धान दिवस कार्यक्रमका लागि मनहरीलाई छनौट गरेकोमा मउवा संघलाई धन्यबादज्ञापन गरे ।
कार्यक्रममा संघ महासचिव प्रतिमा श्रेष्ठ र संघ कृषि प्रवद्र्धन समिति संयोजक निलमकुमारी पाण्डेले किसानका लागि रोपाईं मानो रोपेर मुरी फलाउने दिन रहेको, किसानको प्रगतिको कामना गर्दै कार्यक्रममा सहभागीलाई धन्यबादज्ञापन गरे । कार्यक्रममा संघ पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य उत्तम शर्माढकाल सहभागी थिए । कार्यक्रममा मउवा संघका पदाधिकारी, सदस्य, कृषि समितिका पदाधिकारीहरु, महिला उद्यमी, मनहरीका स्थानीयको सहभागिता थियो।
















