हेटौंडा । नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । सम्पन्न नगर कमिटीको बैठकले आगामी असारभित्र सबै वडा कमिटीको बैठक बसी निष्क्रिय रहेका कुनै पनि पदका सदस्यलाई बिदा गरी सम्बन्धित कमिटीले पदपूर्ति गर्ने बाटो खुला गरेको छ ।
बैठकले पार्टी सदस्यता नवीकरणका लागि साउन ७ गतेसम्मको म्याद तोकेको नगर सचिव सुजनकुमार रायमाझीले जानकारी दिए । पार्टी नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् केन्द्रीय सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको बैठकले जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा भण्डारीको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै आगामी कार्ययोजनामा ध्यानकेन्द्रित हुन बर्तौलाले आग्रह गरे ।
बैठकले विगतका कार्यक्रमहरुको समीक्षा गर्दै भावी कार्ययोजनामा समेत छलफल गरेको छ । बैठकमा जिल्ला कमिटी सदस्यहरु बिमलकुमार ढकाल, हरि गोपाली, नगर उपाध्यक्ष हेमकुमार थिङ, पूर्वप्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्वजिल्ला कमिटी सदस्य बलराम थापा, प्रदेश युवा तथा खेलकुद विभाग सदस्य विजय बलामी, युवा ६ नम्बर वडा कमिटी अध्यक्ष मनहरी भट्ट, नगर कमिटी सदस्य मानबहादुर स्यांतान, ४ नम्बर वडा कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र अधिकारी, ५ नम्बर वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष सुमन रायमाझी, नगर सदस्य जितबहादुर थोकर, नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष अशोक खातीलगायतले आफ्ना धारण राखेका थिए ।















