हेटौंडा । दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक हेटौंडाको हुप्राचौरमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । आइतबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले बिक्री केन्द्रको उद्घाटन गरेकी हुन् ।
बिक्री केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख लामाले दूध उत्पादन हुने मकवानपुर जिल्लामा डीडीसीको बिक्री केन्द्र सञ्चालनमा आउनु राहतको विषय भएको बताइन् । उनले अन्य खाद्य पदार्थको तुलनामा दुग्धजन्य पदार्थको महत्व बढी रहेको उल्लेख गर्दै यसबाट किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
डीडीसी हेटौंडा शाखाका कार्यालय प्रमुख राजीव खनालले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रुपमा लैजान यस्ता विक्रि केन्द्र विस्तार गरि“दै आएको बताए ।
उनले विक्रि केन्द्र विस्तारस“गै किसानले उत्पादन गरेको दुधका लागि बजार सुनिश्चित गर्न स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताए ।
करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त बिक्री केन्द्रमा ३० प्रकारका दुग्धजन्य पदार्थ उपलब्ध हुने सञ्चालक फेन्चु रुम्बाले जानकारी दिए । उनका अनुसार केन्द्रमा दूध, दही, मही, पनिर, चिज, रसबरी, लालमोहनलगायतका दुग्धजन्य पदार्थ बिक्रीका लागि राखिनेछ । साथै, मकवानपुरमै उत्पादित फलफुलसमेत उपलब्ध गराइने उनले बताए ।











