भरतपुर । विगत केही दिनदेखि देशका विभिन्न जिल्लामा बर्डफ्लुको समस्याका कारण हजारौं कुखुरा नष्ट भएको समाचार सार्वजनिक हुँदै गर्दा चितवनमा भने हालसम्म समस्या नदेखिएको जिल्ला पशुसेवा कार्यालय चितवनले बताएको छ । कुखुरा उत्पादनका लागि अग्रणी जिल्ला मानिएको चितवनमा पशुपक्षीजन्य रोगको समस्या नरहेको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।

तर, जोखिम भने जतिखेर पनि रहिरहने हुँदा सतर्क रहन किसानहरुलाई उनले आग्रह गरेका छन् । ‘चितवन जिल्ला हरेक मालवस्तुको ओसारपसार गर्ने मुख्य विन्दु भएकाले जोखिम त सधैं रहिरहन्छ,’ डा.न्यौपानेले भने–तर, वर्तमान अवस्थामा चितवन जिल्लामा पशुपक्षीजन्य रोग देखिएको छैन । उनका अनुसार छिमेकी जिल्लाहरुमा रोग देखिइसकेपछि सतर्क रहन आवश्यक रहे पनि वर्तमान अवस्थामा चितवन सुरक्षित छ ।

‘राजधानीसहित छिमेकी जिल्लाहरुमा समस्या देखिइसकेपछि चितवन जिल्लामा पनि त्यो समस्या नआउला भन्न सकिँदैन । तर, सतर्कता अपनाउने र रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने । यसका लागि एउटा फार्मबाट अर्को फार्ममा सम्पर्क नगर्ने, बाहिरबाट आउने आगन्तुकलाई फार्ममा प्रवेश नदिने र दिनैपरे पनि सुरक्षाका उपाय अपनाएपछि मात्र प्रवेश दिनेजस्ता कार्य गरे जोगिन सकिने उनको भनाइ छ । तर, बेलाबेला छिटपुटरुपमा समस्या देखिइरहने हुँदा समस्या नै छैन भन्न सकिने अवस्था पनि नरहेको उनको भनाइ छ । ‘पछिल्लोपटक गएको जेठ २३ गते अन्तिमपटक बर्डफ्लु देखिएको थियो । तर, त्यसयता देखिएको छैन,’ उनले भने–बाहिरी जिल्लाको अवस्था भयावह हुँदै जाँदा चितवनलाई सुरक्षित राख्ने चुनौती त छँदैछ ।

सुरक्षित रहनका लागि पशुसेवा कार्यालयले सचेतनामूलक कार्यक्रम गर्ने तथा किसानलक्षित कार्यक्रममार्फत् जोगिने उपायमा काम गर्दै आएको उनले बताए । हाल पनि कुखुराजन्य वस्तुको नमुना संकलन गरी परीक्षण गर्ने र अवैधानिकरुपमा भित्रिनसक्ने जोखिम न्यूनीकरणका लागि निगरानी गर्दै आएको उनले दाबी गरे । बर्डफ्लु सार्ने प्रमुख कारण भनेकै चराचुरुंगी भएकाले चराचुरुंगीलाई फार्मको नजिक आउन नदिने वातावरण बनाउनुपर्ने डा. न्यौपानेले बताए । जंगली जनावरलाई फार्मभित्र प्रवेश गर्न नदिने र चराचुरुंगी बस्ने खालका रुखबिरुवा भए त्यसको उचित व्यवस्थापन गर्ने वा त्यस्ता ठाउँमा फार्म नराख्ने गर्दा केही हदसम्म सुरक्षित हुनसक्ने देखिन्छ ।

अन्य पशुजन्य रोगको अवस्था पनि चितवनमा स्थिर रहेको उनले बताए । गत वर्ष असोज, कात्तिकको समयमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । त्यसबाट धेरै बंगुर मरेका थिए । तर, हाल समस्या नदेखिएको उनले बताए । ‘लम्पीस्किन पनि स्थिर छ । समग्रमा पशुजन्य रोगबाट पनि चितवन सुरक्षित छ,’ उनले भने । पशुपक्षीजन्य रोगबाट जोगिनका लागि नियमित खोप, आवतजावत नियन्त्रण, जैविक सुरक्षाका विधि अपनाएरमात्र पशुपक्षीपालन गर्न उनले सुझाव दिए ।

पछिल्लो समय चितवनमा अफ्रिकन स्वाइन फिभरविरुद्ध खोप नभएको हुँदा फार्म सञ्चालकले आफैं सचेत हुन आवश्यक रहेको उनले बताए । ‘हाल हामीसँग खोप छैन । त्यसकारण अफ्रिकन स्वाइन फिभरबाट बच्नका लागि बंगुरलाई बाहिरी खानेकुरा नखुवाउने, जैविक सुरक्षाका विधि अपनाउने, पाठापाठी ल्याउँदा जैविक सुरक्षाका विधिसँगै क्वारेन्टाइनमा राखेर राम्रोसँग अनुसन्धान गरेपछिमात्र खोरमा राख्ने गर्दा सुरक्षित हुन सकिन्छ,’ उनले भने ।