हेटौंडा/बागमती प्रदेश सरकारअन्तर्गत् मन्त्रालयहरुले कर्मचारी सरुवालाई आक्रमकरुपमा अगाडि बढाएका छन् । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले एकैपटक २ सय ३७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मंसिर ३ गतेको निर्णयअनुसार मन्त्रालयमातहत विभिन्न कार्यालयमा कार्यरत् कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरुवा तथा पदस्थापन हुनेमा शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी छन् । सबभन्दा धेरै नायब सुब्बा तथा सहायक अधिकृत समूहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयको विवरणअनुसार शाखा अधिकृत तथा वरिष्ठ शाखा अधिकृत ४४ जना, नायब सुब्बा तथा सहायक अधिकृत १ सय १८ जना, मेकानिकल सुपरभाइजर ३५ जना, कार्यालय सहयोगी २० जना र कम्प्युटरसम्बन्धि विभिन्न पदका २० जना गरी कुल २ सय ३७ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ ।

प्रदेश सरकारले तयार गरेको सरुवा मापदण्डका आधारमा सबै तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीले जानकारी दिए । स्थायी कर्मचारीको हकमा कार्यालय सहयोगीदेखि ८ औं तहका कर्मचारीसम्मको सरुवा तथा पदस्थापन गरिएको सुबेदीले बताए । सरुवा तथा पदस्थापन गरिएका कर्मचारीलाई मन्त्रालयसहित यातायात व्यवस्था कार्यालयका विभिन्न शाखा तथा कार्यालयमा खटाइएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना, गुर्जुधारा, चाबहिल, कलंकी, भक्तपुर, भरतपुर, हेटौंडा, बनेपा, बालाजु, सल्लाघारीलगायत कार्यालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश पर्यटन कार्यालय काठमाडौं तथा विभिन्न जिल्लामा रहेका उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयमा समेत कर्मचारी खटाइएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्रालयअन्तर्गत् पनि ५ सय ७५ कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयले प्रदेश सरकारको सरुवा मापदण्डका आधारमा वनसेवाका विभिन्न पदमा कार्यरत् कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार वनरक्षक, वन अधिकृत तथा वरिष्ठ वन अधिकृत र सहायक वन अधिकृत, रेञ्जर एवम् फरेस्टर समूहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ । तीन विवरणमा समेटिएका कर्मचारीको संख्या जोड्दा ५ सय ७५ पुग्छ । पदगत् विवरणअनुसार वनरक्षक १ सय ४७ जना, वन अधिकृत तथा वरिष्ठ वन अधिकृत समूहका १ सय ३७ जना र सहायक वन अधिकृत, रेञ्जर तथा फरेस्टर समूहका २ सय ९१ जना छन् । सम्बन्धित विवरणमा यी समूहका पदहरु एउटै सूचीमा समेटिएकाले अन्तिम दुई समूहभित्रका उपपदअनुसारको छुट्टाछुट्टै संख्या भने स्पष्टरुपमा छुट्याइएको छैन ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अच्युत लामिछानेले प्रदेश सरकारको सरुवा मापदण्डका आधारमा कर्मचारीको सरुवा गरिएको जानकारी दिए । लामो समयदेखि एउटै कार्यालयमा कार्यरत् कर्मचारीलाई मापदण्डअनुसार सरुवा गरिएको उनले बताए । ‘तराईका जिल्ला र पहाडी जिल्लालाई मिलाएर कर्मचारीको सरुवा गरिएको छ,’ लामिछानेले भने–प्रदेश सरकारको सरुवा मापदण्डअनुसार सबैजसो कर्मचारीको सरुवा गरिएको हो । मन्त्रालयले कर्मचारीलाई हाल कार्यरत् कार्यालयबाट प्रदेशका विभिन्न जिल्लास्थित डिभिजन वन कार्यालय तथा मातहत निकायमा सरुवा तथा पदस्थापन गरेको विवरण सार्वजनिक गरेको छ । सूचीमा मकवानपुर, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट र रसुवालगायत जिल्लाका कार्यालय समेटिएका छन् ।

बागमती प्रदेश सरकारले एउटै कार्यालयमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्नुपर्ने व्यवस्था गरेपछि प्रदेशका विभिन्न मन्त्रालय तथा मातहत निकायले कर्मचारी सरुवाको प्रक्रिया अघि बढाएका छन् । सोही व्यवस्थाअनुसार मन्त्रालयहरुले कर्मचारीको सरुवा तथा पदस्थापनलाई तीव्रता दिएका हुन् । प्रदेश सरकारले कर्मचारीलाई लामो समय एउटै कार्यालयमा राख्दा सेवाप्रवाहमा पर्नसक्ने प्रभावलाई सम्बोधन गर्ने उद्धेश्यले निश्चित सेवा अवधि पूरा भएपछि सरुवा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।