हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले युवापुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिचाईं विस्तार, माटो सुधार र स्वदेशी विउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत् नया“पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ ।
माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत् माटोको नमूना परीक्षण गरिएको छ । परीक्षणका आधारमा माटोको अम्लीयपन घटाउन ५० प्रतिशत् अनुदानमा कृषिचुन वितरण गरिएको छ भने प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा ४० मेट्रिकटन चुन निःशुल्क वितरण गरिएको उपप्रमुख बानियाँले बताए । तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह तथा कृषि सहकारीमार्फत् लिची, केरा, ड्रागनफल र एभोकाडोलगायत फलफूल खेती विस्तार गर्ने कार्यक्रम ५ स्थानमा सञ्चालन भइरहेको जनाइएको छ । खेतीयोग्य जमिनमा सिचाईं सुबिधा विस्तार तथा विद्यमान सिचाईं पूर्वाधारको मर्मतलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
आयातित तथा हाइब्रिड विउमा बढ्दो निर्भरता घटाउन स्वदेशी खुला मकै र धानको विउ उत्पादनलाई प्रोत्साहन गरिएको छ । यसअन्तर्गत् रामपुर कम्पोजिट मकै ७५० कठ्ठा, मकवानपुर–१ धान १५ कठ्ठा र राम धान १० कठ्ठा क्षेत्रफलमा विउ उत्पादन गरिने भएको छ । संघीय सरकारबाट हस्तान्तरित धान पकेट कार्यक्रमअन्तर्गत् वडा–१७ मा साना किसान कृषि सहकारी संस्थामार्फत् तीन सय कठ्ठामा धानखेती सञ्चालन भइरहेको उपप्रमुख बानियाँले जानकारी दिए ।












