हेटौंडा/साढे ११ वर्षसम्म देशका विभिन्न ठाउँमा जेसीबी चलाएर जीविका चलाएका मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका युवा सुरेशकुमार ब्लोन हाल ड्रागनफल खेतीबाट वार्षिक १८ देखि २० लाख आम्दानी गर्ने लक्ष्यसहित कृषि उद्यममा जुटेका छन् ।
बैंकबाट ऋण लिएर सुरु गरेको उनको व्यवसाय हाल परिवारको मुख्य आम्दानीको स्रोतमात्र बनेको छैन, गाउँका अन्य युवाका लागि पनि प्रेरणाको उदाहरण बनेको छ । ब्लोनले १० कठ्ठा क्षेत्रफलमा २ सय ४० पोलमा ड्रागनफल खेती गरेका छन् । उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । निर्माण क्षेत्रमा लामो समय जेसीबी अपरेटरका रुपमा काम गरेका ब्लोनले आफ्नै गाउँमा केही गर्ने उद्धेश्यले रोजगारी छाडेर घर फर्किएको बताए । केही महिना अन्यौलमा बितेपछि गाउँकै अग्रणी ड्रागन कृषक केदार लम्सालसँगको भेटले उनको जीवनको बाटो बदलिदिएको उनले सुनाए ।
‘बुबाले केदार अंकलसँग भेट गराइदिनुभयो । उहाँले ड्रागन खेती गर्न सुझाव दिनुभयो । त्यसपछि यो खेती सुरु गर्ने निर्णय गरें,’ उनले भने । ड्रागन खेती सुरु गरेको १५ महिनामै १४ क्वीन्टल उत्पादन भयो । उक्त वर्ष ड्रागन फल बिक्री गरेर करिब चार लाख आम्दानी गरेका थिए । दोस्रो वर्ष उत्पादन बढेर ४२ क्वीन्टल पुगेको उनले बताए । यस वर्ष पहिलो लटको उत्पादनमात्र प्रदेश सरकारले आयोजना गरेको ड्रागन फल महोत्सवमा करिब चार लाख बराबर बिक्री भएको उनको भनाइ छ । वर्षभरिमा १८ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए ।
ड्रागन फल प्रतिकेजी २ सय ५० देखि ३ सयमा बिक्री हुँदै आएको छ । ‘सुरुमा नबिल बैंकबाट १५ लाख ऋण लिएर व्यवसाय सुरु गरेको हुँ,’ उनले भने–हाल त्यही लगानीले परिवारको आर्थिक अवस्था फेरिएको छ । उनका अनुसार ड्रागन फलको बजार उत्साहजनक छ । हेटौंडाका होलसेल तथा खुद्रा पसलमा नियमित बिक्री हुँदै आएको छ । मागअनुसार उत्पादन पु¥याउन नसकिएको उनको भनाइ छ ।
खेतीमा सुरुका दिनमा लार्भा कीराको समस्या देखिए पनि हाल त्यो नियन्त्रणमा आएको उनी बताउँछन् । तीन वर्षदेखि ड्रागन खेतीमा कुनै पनि रासायनिक विषादी प्रयोग नगरेको उनले बताए । बोटको फेदमा घरकै प्रांगारिक मल, कुखुराको मल र आवश्यकताअनुसार डीएपी मल प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हालसम्म विषादी प्रयोग गरेको छैन । सकेसम्म अर्गानिक तरिकाले खेती गरिरहेको छु,’ उनले भने । ड्रागन खेतीका लागि उनले कुनै औपचारिक तालिम लिएका छैनन् । आफ्नै अध्ययन, अनुभव र निरन्तर अभ्यासबाट खेती व्यवस्थापन गर्दै आएको उनले बताए । उनका अनुसार हाल ड्रागन खेती गरिएको जमिनमा पहिले मकै र कोदो खेती हुने गथ्र्यो । त्यतिबेला त्यसबाट परिवारलाई ६ महिना खानसमेत पर्याप्त उत्पादन हुँदैनथ्यो । हाल त्यही जमिनले परिवारलाई आत्मनिर्भर बनाएको छ ।
कृषि ज्ञानकेन्द्र चितवनको सहयोगमा उनले ड्रागन फल भण्डारण तथा बजारीकरणका लागि १० हजार किलो क्षमताको मिनी कोल्डस्टोर प्राप्त गरेका छन् । त्यसका लागि उनले नेपाल सरकारप्रति आभार व्यक्त गरे । तर, कोल्डस्टोर सञ्चालनमा कम विद्युत् भोल्टेजले समस्या सिर्जना गरेको उनले बताए । सिचाईंको पर्याप्त सुबिधा नहुँदा खेती वर्षाको भरमा चलाउनुपरेको उनको गुनासो छ । धाराकोे पानी प्रयोग गरे पनि त्यो पर्याप्त नभएको उनले बताए । गाउँमा सिचाईं ट्यांकी निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ‘पानी र विद्युत् हाम्रो सबभन्दा ठूलो समस्या हो । सिचाईं सुबिधा नियमित भयो भने उत्पादन अझ बढाउन सकिन्छ,’ उनले भने ।
उनका अनुसार ड्रागन फलको बजार व्यवस्थापनमा राज्यले थप भूमिका खेल्नु आवश्यक छ । किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने व्यवस्था भए बिचौलियाको प्रभाव कम हुने उनको विश्वास छ । उनले प्रदेश तथा स्थानीय सरकारले नियमितरुपमा ड्रागन फल महोत्सव आयोजना गर्नुपर्ने सुझाव दिए । उनले वास्तविक किसानलाई मात्र अनुदान दिनुपर्ने धारणा पनि राखे । ‘कागजमा मात्र खेती गर्ने होइन, खेतमै पसिना बगाउने किसानलाई हेरेर सहयोग गर्नुपर्छ,’ उनले भने–उत्पादनको बजार राज्यले सुनिश्चित गरिदिए किसानलाई कर तिर्न पनि समस्या हुँदैन ।
विदेश रोजगारीतर्फ आकर्षित भइरहेका युवालाई उनले आफ्नै गाउँमा कृषि उद्यम सुरु गर्न आग्रह गरे । ‘नेपाल कृषिप्रधान देश भन्नेमात्र होइन, उत्पादनमा जोड दिनुपर्छ । मेहनत गर्न सक्ने हो भने यहीं सम्भावना छ,’ उनले भने । ड्रागन खेती गर्न चाहनेलाई गुणस्तरीय मदर प्लान्ट बाट तयार गरिएको बिरुवा छनौट गर्न उनले सुझाव दिएका छन् । कलिलो हाँगा वा गुणस्तरहीन बिरुवा रोप्दा उत्पादनमा असर पर्ने भएकाले बिरुवा छनौटमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
आमाबुबा, पत्नी र दुई साना छोराछोरीसहित परिवार हाल कृषि व्यवसायबाट सन्तुष्ट रहेको बताउँदै उनले भने–कुरा गरेरमात्र हुँदैन, मेहनत गर्नुपर्छ । मैले कृषिमा पसिना बगाएँ । त्यसको प्रतिफल पाएको छु । अब अन्य युवाले पनि विदेशभन्दा आफ्नै माटोमा सम्भावना खोज्नुपर्छ ।












