हेटौंडा/ढिलो मनसुनका कारण बागमती प्रदेशमा असार अन्तिमसम्म आइपुग्दा पनि धान रोपाइँ आधाभन्दा केही बढीमात्र भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्म प्रदेशभर ५७ दशमलव २३ प्रतिशत् धान रोपाइँ भएको छ । कुल १ लाख १४ हजार ५ सय २४ हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ६५ हजार ५ सय ४५ हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा कुल ४ लाख २६ हजार ५ सय ५७ हेक्टर खेतीयोग्य जमिन छ । प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ९० प्रतिशत् रोपाइँ भएको छ भने सबभन्दा कम रसुवामा २४ दशमलव ४५ प्रतिशत्मात्र रोपाइँ भएको छ ।
तथ्यांकअनुसार काठमाडौंमा ५ हजार ३ सय ३२ हेक्टर, ललितपुरमा ३ हजार ७ सय ४७ हेक्टर र भक्तपुरमा २ हजार २ सय ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । नुवाकोटमा ५ हजार २ सय ३४ हेक्टर अर्थात् ३९.९३ प्रतिशत्, सिन्धुलीमा ९ हजार ९ सय २४ हेक्टर अर्थात् ७३.८१ प्रतिशत्, रामेछापमा २ हजार ७ सय ५१ हेक्टर अर्थात् ३५ प्रतिशत्, दोलखामा १ हजार १ सय २६ हेक्टर अर्थात् ४० प्रतिशत् र काभ्रेपलाञ्चोकमा ५ हजार ४ सय ४१ हेक्टर अर्थात् ६३.०२ प्रतिशत् क्षेत्रमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोकमा ३ हजार २ सय ९१ हेक्टर अर्थात् ४२.९९ प्रतिशत्, चितवनमा १७ हजार ५५ हेक्टर अर्थात् ६२.४२ प्रतिशत्, मकवानपुरमा ५ हजार ३ सय ९३ हेक्टर अर्थात् ६३.५० प्रतिशत् तथा धादिङमा ३ हजार ५ सय १५ हेक्टर अर्थात् ३१.५० प्रतिशत् क्षेत्रमा धान रोपाइँ भएको छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ सुजन कँडेलले यस वर्ष मनसुन ढिलो सुरु भएकाले धान रोपाइँ पनि ढिलो भएको बताए । उनका अनुसार पर्याप्त वर्षा भएपछि बाँकी क्षेत्रमा पनि रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको छ ।












