हेटौँडा /मकवानपुरको हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १२ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार सर्लाहीको बरथवा नगरपालिका–१५ पिपराभित्ता बेलटोल निवासी विश्वकर्मा अचानक खसेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२ः४० बजे मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक १६ वर्षीय आकृत विश्वकर्मा मृतकका काका नाता पर्ने व्यक्ति हुन्। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव हेटौँडा अस्पतालमै राखिएको छ।