हेटौंडा/जंगली जनावरले मकै, गहुँलगायत अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत् खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती हाल उनको आम्दानीको नया“ आधार बन्न थालेको छ । रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् ।
उनका अनुसार एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपिया“ पर्छ । ठूलो लगानीमा शुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामा उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन् । ‘मकै, गहुँ, कोदो, फपर लगाउदा जंगली जनावरले नष्ट गरिदिन्थे । त्यसपछि केही नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालें,’ रानामगरले भने । हाल त्यहा“ चार किसानले करिब एक सय रोपनी क्षेत्रफलमा यसको व्यावसायिक खेती गरिरहेका छन् । सिल्भर डलर खेतीको मुख्य आकर्षण छोटो समयमै उत्पादन लिन सकिनु हो । किसानका अनुसार रोपेको ७ देखि ८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ । त्यसपछि गोडमेलको आधारमा प्रत्येक एक÷दुई महिनामा उत्पादन लिन सकिन्छ ।
कोगटेका अर्का किसान वासुदेव चुनीमगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनी क्षेत्रफलमा सिल्भर डलर खेती सुरु गरेका हुन् । करिब ४ लाख ४७ हजार लगानीमा शुरु गरिएको खेतीबाट उनले उत्पादन लिन थालिसकेका छन् । हालसम्म उनले दुई सय किलोभन्दा बढी सिल्भर डलर बिक्री गरिसकेका छन् । थप उत्पादन पनि बजारमा पठाउने तयारीमा रहेको उनले बताए । किसानका अनुसार सिल्भर डलर प्रतिकिलो करिब ३ सयमा बारीबाट बिक्री हुन्छ । छोटो समयमै उत्पादन शुरु हुने र त्यसपछि नियमितरुपमा हा“गा काट्न सकिने भएकाले यसबाट दीर्घकालीन आम्दानीको सम्भावना रहेको उनीहरुको भनाइ छ ।
एउटै बोटबाट लामो समयसम्म उत्पादन
सिल्भर डलर एउटै बोटबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ । किसानका अनुसार राम्रो मलजल र गोडमेल गरी स्याहार गर्नसके एउटै बोटबाट दशकौंसम्म हा“गा उत्पादन गर्न सकिन्छ । यसको आयु सामान्यतया ३० देखि ५० वर्षसम्म हुने बताइन्छ । शुरुमा बिरुवा खरिद, जग्गा तयारी र खेती विस्तारमा लगानी गर्नुपर्ने भए पनि त्यसपछि लामो समयसम्म नियमित आम्दानी लिन सकिने किसानको विश्वास छ । यद्यपि, शुरुवाती लगानी किसानका लागि चुनौतीपूर्ण छ । एउटा बिरुवाकै मूल्य करिब १ हजार ४ सय पर्ने भएकाले ठूलो क्षेत्रफलमा खेती विस्तार गर्दा धेरै रकम आवश्यक पर्छ । त्यसबाहेक जग्गा तयारी गर्न रोप्न, सिचाईं, गोडमेल तथा अन्य खर्चसमेत थपिन्छ ।
फूल सजावटदेखि अरोमा थेरापीसम्म
अष्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टस सुगन्धित वनस्पति हो । चा“दीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो । यसको पातसहित हाँगा फूलका बुके, माला तथा घर सजावटमा प्रयोग गरिन्छ । पछिल्लो समय होटल, रेस्टुरा“, विभिन्न कार्यक्रम तथा समारोहको सजावटमा समेत यसको प्रयोग बढ्दै गएको किसान बताउ“छन् । यसका पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिने बताइन्छ । सजावट तथा फ्लोरिकल्चर क्षेत्रमा यसको प्रयोग बढ्दै गएस“गै यसको बजार माग पनि बढिरहेको किसानको भनाइ छ । चिसो हावापानीमा राम्रो हुने भएकाले नेपालको एक हजारदेखि एक हजार पा“च सय मिटर उचार्इंका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पतिविज्ञको भनाइ छ ।
बजारको समस्या छैन
कोगटेका किसानका अनुसार सिल्भर डलरको बजार खोज्न समस्या छैन । उत्पादित सिल्भर डलर बारीबाट बिक्री हुने गरेको उनीहरुको भनाइ छ । तर, मागअनुसार उत्पादन गर्न नसकिएको उनीहरुको भनाइ छ । हाल सीमित किसानले मात्र व्यावसायिकरुपमा खेती गरिरहेकाले बजारको माग धान्न पर्याप्त उत्पादन हुन सकेको छैन । ‘उत्पादन बढाउन सके बजारको समस्या हु“दैन । हाल त मागअनुसार उत्पादन पु¥याउनै गाह्रो छ,’ किसानहरु भन्छन् । यसले सिल्भर डलर खेती विस्तारका लागि बजारको राम्रो सम्भावना देखाए पनि उत्पादनको गुणस्तर, नियमित आपूर्ति र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ ।
व्यावसायिक प्रवद्र्धन गर्ने पालिकाको तयारी
भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामाका अनुसार कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । पालिकाले पनि यस खेतीलाई व्यावसायिकरुपमा प्रवद्र्धन र प्रोत्साहन गर्ने योजना अघि बढाएको उनले बताए । स्थानीय तहबाट आवश्यक सहयोग र प्राविधिक ज्ञान उपलब्ध गराउन सके किसानलाई थप आकर्षित गर्न सकिने पालिकाको भनाइ छ । तर, किसानले भने बिरुवा महंगो हुनुका साथै सरकारी अनुदान र प्राविधिक सहयोगको अभाव रहेको बताएका छन् । खेती प्रविधि, बिरुवा व्यवस्थापन, रोगकीरा नियन्त्रण, कटाइ तथा बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहु“दा नया“ किसानलाई समस्या हुने उनीहरुको भनाइ छ ।
परम्परागत् खेतीको विकल्प
परम्परागत् मकै, कोदो, गहु“ र तोरी खेतीबाट अपेक्षित आम्दानी लिन नसकिरहेका कोगटेका किसानका लागि सिल्भर डलर नया“ विकल्पका रुपमा देखिएको छ । रमेश रानामगरको खेतमा हाल दुई हजार बिरुवा हुर्किरहेका छन् । जंगली जनावरबाट जोगाउन नसकेको अन्नबालीको ठाउ“मा उनले बजारमा माग भएको सजावटी वनस्पति रोजेका छन् । ठूलो शुरुवाती लगानी र केही जोखिम भए पनि छोटो समयमै उत्पादन शुरु हुने तथा लामो समयसम्म आम्दानी लिन सकिने सम्भावनाले किसानलाई आकर्षित गरेको छ ।
तर, व्यावसायिक विस्तारका लागि उत्पादन बढाउनुमात्र पर्याप्त छैन । गुणस्तरीय बिरुवाको सहज उपलब्धता, प्राविधिक सहयोग, सरकारी प्रोत्साहन र बजारको दीर्घकालीन सुनिश्चितता आवश्यक देखिन्छ । किसानले उत्पादन बढाउ“दै जा“दा भविष्यमा बजार व्यवस्थापनको चुनौती आउन सक्ने भएकाले उत्पादनस“गै बजारीकरण र मूल्य श्रृंखलामा पनि ध्यान दिनुपर्ने देखिन्छ । हाल भने कोगटेका किसानका लागि सिल्भर डलर खेती परम्परागत् खेतीको विकल्पमात्र नभएर नया“ आम्दानीको सम्भावना बन्दै गएको छ ।










मनिता राना 


