हेटौंडा/अखिल (क्रान्तिकारी) मकवानपुरले ५४ औं विश्व वातावरण दिवसको अवसरमा शहीद रुद्र पाखिन स्मृति पार्क गढीमा वृक्षरोपण तथा सरसफाइ गरेको छ । ‘प्लाष्टिक प्रदुषण अन्त्य गरौं, स्वच्छ वातावरण निर्माण गरौं’ भन्ने नारासाथ आयोजित कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले वातावरण संरक्षणको विषयमा महत्वपूर्ण धारणा राख्दै भनिन्—आजको दिन केवल एउटा कार्यक्रममात्र होइन, यो हाम्रो आउँदो पुस्ताप्रति गरिने दायित्व हो । वृक्षरोपण भनेको भविष्यमा लगानी गर्न हो । हाम्रो वायु, हाम्रो माटो, हाम्रो नदी सबै दोहोरो संकटमा छन् । एकातिर प्रदुषण, अर्कोतिर वनविनाश । त्यसैले प्रत्येक नागरिकले वातावरण संरक्षणमा व्यक्तिगत् जिम्मेवारी लिनु आजको आवश्यकता हो ।

कार्यक्रमका सभाध्यक्ष अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले भने—हामीले रोपेका बिरुवाहरु भोलिका पुस्ताका लागि छहारी बन्नेछन् । वातावरण संरक्षण कुनै एक दलको वा एक व्यक्तिको काम होइन, यो समाजको साझा कर्तव्य हो । अखिल (क्रान्तिकारी) मकवानपुर यस अभियानमा सदंैव अग्रपंक्तिमा उभिनेछ ।

कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विवेक राई, नेकपा बागमती प्रदेश सदस्य प्रदीप अर्याल, राजकुमार केसी, नेकपा मकवानपुर गढी गाउँपालिका सहसंयोजक राजन दाहाल, नेकपा हेटौंडा उपमहानगरपालिका—७ अध्यक्ष बासु कटुवाल, हेउनपा वाईसीएल वडा—५ अध्यक्ष हरि ढकाल, समाजसेवी केदार दुलाललगायत अखिल (क्रान्तिकारी) मकवानपुरका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुर सहसचिव सुजन सिलवालले गरेका थिए ।