हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ गुम्बाचोक नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ७ः३० बजे हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–९ एचआईडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा बिहान ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।