हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ५ः२५ बजे घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माथिबाट माटो खस्दा हेटौँडा–१० पूर्वेलीटोलका ४५ वर्षीय किरण राना मगर र मनहरी गाउँपालिका–६ का २७ वर्षीय रोशन श्रेष्ठ पुरिएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले राना मगरलाई साँझ ६ः०२ बजे मृत घोषणा गरेका थिए।
घटनामा घाइते श्रेष्ठको कम्मरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकको शव हेटौँडा अस्पतालमा रहेको छ।
प्रहरीका अनुसार उक्त घर १५–२० वर्षअघिदेखि हेटौँडा–११ निवासी वसन्त कप्रौलाले भाडामा लिँदै आएका थिए। घरधनी उवार्सी श्रेष्ठ हाल न्युजिल्यान्डमा बस्दै आएको र पहिले नै भत्काइएको घरको जगमा रहेको इँटा निकाल्ने क्रममा घटना भएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













