हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको अनुमति तथा समन्वयबिना सहरका विभिन्न सडकमा रहेका पोलहरूमा एक्स्ट्रिम इनर्जी ड्रिंक (Xtreme Energy Drink) का विज्ञापन बोर्ड राखिएको पाइएको छ। नगरपालिकाले ती बोर्ड हटाउन लगाएको छ।

असोज २७ गते मंगलबार बिहान हेटौंडाका विभिन्न सडकमा रहेका विभिन्न प्रयोजनका पोलहरूमा इनर्जी ड्रिंकका विज्ञापन बोर्ड देखिएपछि यस विषयमा चासो बढेको थियो। विज्ञापन राख्ने विषयमा नगरपालिकाका सरोकारवाला निकायसँग कुनै समन्वय नभएको र नगरपालिकासमेत यसबारे बेखबर रहेको बताइएको छ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाका अनुसार नगरभित्र विज्ञापन राख्ने विषयमा स्पष्ट कानुनी प्रक्रिया र दररेट निर्धारण गरिएको छ। ती प्रक्रिया पूरा नगरी रातारात विज्ञापन बोर्ड राख्नु नियमविपरीत भएको उनले बताइन्।

नगरपालिकाको अनुमति र सम्झौताबिना यसरी विज्ञापन राख्ने कार्यले स्थानीय तहको अधिकार तथा कानुनी प्रक्रियामाथि चुनौती खडा गरेको मेयर लामाको भनाइ छ। उनले यस्ता गतिविधि रोक्नुपर्नेमा जोड दिएकी छन्।

नगरपालिकाले सम्बन्धित विज्ञापन बोर्ड हटाउन लगाउनुका साथै अनुमति र समन्वयबिना बोर्ड राख्ने विज्ञापन कम्पनीको पहिचान गरी आवश्यक जानकारी संकलन गर्न थालेको मेयर लामाले बताइन्।