काठमाडौं/आफूले प्रेम गरेकी युवतीसँग विवाह गर्न नपाएको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ । आइतबार विहानदेखि टावरमा चढेर आत्महत्याको चेतावनी दिँदै आएका २४ वर्षीय युवकलाई सुरक्षाकर्मी र परिवारको संयुक्त प्रयासमा साढे तीन घण्टापछि सुरक्षितरुपमा तल झारिएको हो ।
उद्धार गरिएका युवक गोडैता नगरपालिका–९, बकैनिया निवासी अफसर आलम हुसेन हुन् । उनी सर्लाही क्याम्पस मलंगवामा स्नातक तहमा अध्ययनरत् विद्यार्थी हुन् । प्रहरीका अनुसार हुसेन आइतबार विहान उज्यालो नहुँदै (विहान ५ः३० बजेअघि) मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको उच्च जोखिमयुक्त टावरमा चढेका थिए । उनी रातिकै समयमा पर्खाल नाघेर टावरमा चढेको हुनसक्ने अनुमान गरिएको छ ।
टावरको माथिल्लो भागमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी गराएका थिए । त्यसपछि मात्रै घटनाबारे सुरक्षा निकाय र परिवारलाई जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । टावरको टुप्पोमा पुगेर हुसेनले मोबाइल फोनमार्फत् आफ्ना मागहरु अघि सारेका थिए । आफूसँगै अध्ययनरत् प्रेमिकालाई तत्काल घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न अभिभावकले अनुमति दिनुपर्ने उनको अडान थियो । आफ्ना मागहरु बेवास्ता गरिए टावरबाट हामफालेर आत्महत्या गर्नेसम्मको चेतावनी उनले दिएका थिए । परिवारले ती युवतीसँग विवाहको अनुमति नदिएपछि दबाब सिर्जना गर्न उनले यो आत्मघाती कदम चालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
युवक टावरमा चढेर हामफाल्ने धम्की दिएको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि टेलिकमपरिसर पुगेको थियो । सुरक्षाकर्मीले टेलिफोन संवादमार्फत् उनलाई फकाउने प्रयास गरे पनि उनले तल झर्न अस्वीकार गर्दै टावरको टुप्पोमा यताउता गरिरहेका थिए । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक गणेश पाण्डेको कमाण्डमा खटिएको टोलीले हुसेनका बुबा र दाजुलाई तुरुन्त घटनास्थलमा बोलाएका थिए । तल झर्न कुनै हालतमा तयार नभएका हुसेनसँग उनका बुबा र दाजुलाई फोनमा कुरा गराइएको थियो । टेलिफोन संवादका क्रममा बुबा र दाजुले उनले राखेको विवाहको माग पूरा गरिदिने र प्रेमिकाका विषयमा परिवार सहमत हुने आश्वासन दिँदै सम्झाइबुझाइ गरेपछि हुसेनको आक्रोश शान्त भएको थियो । अभिभावकको सकारात्मक प्रतिबद्धतापछि उनी आइतवार विहान करिब ८ः५० बजे सुरक्षितरुपमा टावरबाट तल ओर्लिन सहमत भएका हुन् ।
टावरबाट सकुशल तल झारिएलगत्तै उनलाई प्रहरीको गाडीमा राखेर तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लामो समय उच्च मानसिक तनावमा रहेका कारण उनलाई आवश्यक मनोचिकित्सकीय परामर्श, स्वास्थ्य परीक्षण र प्राथमिक उपचारका लागि अस्पताल भर्ना गरिएको हो । युवक टावर चढेको खबर फैलिएपछि विहानदेखि नेपाल टेलिकम कार्यालयपरिसरमा स्थानीयको भिड लागेको थियो । सुरक्षा निकायको संयमता र परिवारको समयोचित सहयोगका कारण एउटा ठूलो अप्रिय दुर्घटना टरेको छ । प्रहरीले हुसेन अस्पतालबाट डिस्चार्ज भएपछि घटनाको विषयमा थप कानुनी अनुसन्धान अगाडि बढाउने जनाएको छ ।












