हेटौंडा । बाराको निजगढ नगरपालिका वडा–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा–३ मा अध्ययनरत आशिक वाइबा कक्षाकोठामा शिक्षकहरुले पढाएको सहज बुझ्दैन थिए । विद्यालयका बोर्डहरुमा लेखिएको कुरा नजिक गएर हेर्नु पर्दथ्यो ।

साथीसंगीहरुसँग पनि उनीहरु जस्तै खेल्न सक्दैन थियो । उनका मनमा साथीहरु जस्तै बसौं, उनीहरु जस्तै पढौं र उनीहरु जस्तै खेलौं भन्ने लागिरहेको थियो । सर्लाही परवानीपुर घर भए पनि उनी बाबुआमा बहादुरसिंह वाइबा र आमा बिनिता गोलेले घरको आर्थिक अवस्थाका कारण भिनाजु शुक्र घलानको सहयोगमा निजगढमा बसेर पढ्न थालेका थिए । के कारण यस्तो भएको भनेर उनी र उनको परिवारले मेसो पाउन सकेको थिएन ।

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको विद्यालय आँखाजाँच कार्यक्रमअन्तर्गत उनको विद्यालयमा आँखाजाँच गर्दा उनको आँखामा मोतिविन्दुका कारण दृष्टि कमजोर भएको पत्ता लागेको थियो । यही अवस्थामा रहे भविष्यमा झन् दृष्टि खराब हुने भएकाले अस्पताल एवम् क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा तिगलंगा आँखा प्रतिष्ठानमा आशिकको मोतिविन्दुको शल्यक्रिया भएको छ । शल्यक्रियापछि वाइबाले आफू अब अरु साथीहरु जस्तै पढ्न, खेल्न र कुद्नसक्ने भएको भन्दै धेरै खुशी लागेको बताए ।