काठमाडौं/जनसांख्यिक बनावटको हिसाबले नेपाल हाल यस्तो विन्दुमा छ, जहाँ अवसर र क्षय एकैपटक प्रकट भएका छन् । काम गर्ने उमेरको जनसंख्या इतिहासकै उच्च विन्दुमा पुगेका बेला युवा पलायन पनि उत्कर्षमा छ । काम गर्ने उमेरको जनसंख्याको बाहुल्यता अवसरको घेरा हो तर रोजगारी र गुणस्तरीय शिक्षाको अभावमा विदेश जानुपर्ने बाध्यता जनसांख्यिक लाभांशको क्षय हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा विहानैदेखि लाइन लाग्छ । काँधमा झोला, हातमा पासपोर्ट र अनुहारमा अनिश्चयको छाया बोकेका अधिकांश यात्रु २० देखि ३५ वर्ष उमेरका युवा हुन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा मात्र आठ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारका लागि श्रमस्वीकृति लिए । औसतमा दिनैपिच्छे करिब दुई हजार ३ सय युवा अर्थात् हरेक मिनेटजसो एकभन्दा बढी विदेसिने गरेमा छन् । ठीक यहीबेला मुलुक आफ्नो इतिहासकै सबभन्दा अनुकूल जनसांख्यिक अवस्थामा छ भन्ने तथ्य बहसको केन्द्रमा पर्न सकेको छैन । जनसंख्याशास्त्रीहरुले सुनौलो झ्याल भन्ने गरेको यो जनसांख्यिक अवसर सधैंका लागि खुला रहँदैन । नेपालका निम्ति प्रश्न यतिमात्र हो कि यो झ्याल बन्द हुनुअघि लाभ उठाउन सक्छौं कि सक्दैनौं ?
आधा शताब्दीको सङ्क्रमण
जनसांख्यिक सङ्क्रमण भनेको उच्च जन्मदर र उच्च मृत्युदरबाट न्यून जन्मदर र न्यून मृत्युदरतर्फको यात्रा हो । युरोपले दुई सय वर्ष लगाएर पार गरेको यस यात्रा नेपालले करिब पाँच दशकमै पूरा गरेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका शृंखलाबद्ध तथ्यांक हेर्दा सन् १९९६ मा प्रतिमहिला ४.६ रहेको कुल प्रजनन् दर सन् २०२२ मा आइपुग्दा २.१ मा झरेको छ, जुन प्रतिस्थापन तह हो । अर्थात्, अबका नेपाली आमाहरुले औसतमा जति बच्चा जन्माउँछन्, त्यसले जनसंख्या बढाउँदैन, मात्र प्रतिस्थापन गर्छ ।
गण्डकी प्रदेशको प्रजनन् दर १.४ मा झरिसकेको छ भने बागमतीको १.६ छ, जुन विकसित युरोपेली मुलुककै हाराहारीमा पुगेको पाइन्छ । मृत्युका सूचकहरुमा सुधार अझ उल्लेखनीय छ । सन् १९९६ मा प्रतिहजार जीवित जन्ममा ७८ रहेको शिशु मृत्युदर २०२२ सम्ममा २८ मा झरेको छ भने स्वास्थ्य क्षेत्रमा आएको प्रगतिले पाँच वर्षमुनिको बाल मृत्युदर १ सय १८ बाट ३३ मा पुगेको छ । यसको सोझो अर्थ हो कम बच्चा जन्मन्छन् र अधिकांश जन्मेका बच्चा बाँच्छन्, हुर्कन्छन् र श्रमशक्तिमा प्रवेश गर्छन् ।
जन्म र मृत्युदरमा आएको गिरावटका पछाडि केही महत्वपूर्ण सामाजिक परिवर्तनका आधार छन् । परिवार नियोजनका साधनको प्रयोग विवाहित महिलामा ५७ प्रतिशत् पुगेको छ । छोरीहरुको विद्यालय भर्ना छोराहरुकै हाराहारीमा छ र महिलाको औसत विवाह उमेर क्रमशः ढिला हुँदै गएको छ । उच्चशिक्षा र आयआर्जनमा संलग्न महिलाले सानो परिवार रोज्ने विश्वव्यापी प्रवृत्तिसँग नेपाल पनि उस्तै गतिमा हिँडिरहेको छ ।
सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएपछि प्रजनन् स्वास्थ्य सेवामा पहुँच फराकिलो भएको छ र वैदेशिक रोजगारका कारण दम्पती वर्षौं अलग बस्नुपर्ने बाध्यताले जन्मदर घट्नुमा महत्वपूर्ण भूमिका खेलेको तथ्यहरुले स्पष्ट पार्छन् । समग्रतामा स्वास्थ्य सेवामा पहुँच र महिला सशक्तीकरण नै जन्म र मृत्युदर न्यूनीकरणका मुख्य कारणको रुपमा लिइन्छ ।
मुलुकको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगे पनि वार्षिक वृद्धिदर ०.९२ प्रतिशत्मा खुम्चिएको छ, जुन विगत ८० वर्षयताकै न्यून हो । रामेछापलगायत ३४ वटा जिल्लाको जनसंख्या त ऋणात्मक दरले घटिरहेको छ । जनसंख्याको उमेर–संरचना युवामुखीबाट क्रमशः प्रौढमुखी हुँदै गइरहेको छ र यही परिवर्तनका बीचमा छ नेपालको ऐतिहासिक अवसर ।
इतिहासकै अनुकूल उमेर–संरचना
राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको ६२ प्रतिशत् १५ देखि ५९ वर्षका काम गर्ने उमेर समूह जनसंख्या छ । जुन २०६८ सालमा ५७ प्रतिशत्मात्र थियो । बालबालिका २७.८ प्रतिशत् र वृद्धवृद्धा १०.२ प्रतिशत् छन् । इतिहासमै पहिलोपटक कमाउने उमेरका मानिस आश्रितभन्दा उल्लेख्यरुपमा बढी छन् । जनसंख्या अध्ययनमा यसैलाई जनसांख्यिक लाभांश (डेमोग्राफिक डिभिडेन्ड) भनिन्छ । यो लाभांशले अर्थतन्त्रलाई चार प्रमुख माध्यमबाट विकास गर्न सकिन्छ । पहिलो, श्रमशक्तिको प्रचुर आपूर्तिले उत्पादन र सेवा क्षेत्र विस्तार हुन्छ । दोस्रो, आश्रित जनसंख्या कम हुँदा परिवार र राष्ट्रकै बचत दर बढ्छ, जसले पुँजी निर्माणलाई टेवा दिन्छ । तेस्रो, थोरै बालबालिकामा प्रतिव्यक्ति शिक्षा–स्वास्थ्य लगानी बढाउन सकिन्छ, जसले अर्को पुस्ताको उत्पादकत्व वढाउछ । र चौथो, कमाउने जनसंख्याले आन्तरिक बजार, उद्यमशीलता र नवप्रवर्तनलाई गति दिन्छ ।
दस वर्षअघि सयजना काम गर्ने उमेरका नेपालीले करिब ७६ जना आश्रित जनसंख्या पाल्नुपथ्र्यो । हाल त्यो भार घटेर ५३ जनाको हाराहारीमा झरेको छ । घट्दो आश्रित अनुपातको यही अन्तर नै त्यो बोनस हो, जसलाई सही नीतिले पुँजीमा बदल्न सकिन्छ । जनसांख्यिक लाभांश स्वचालित होइन र ठीकढंगले व्यवस्थापन गर्न सकिएन भने यो एउटा चेतावनी पनि हो । अनुकूल उमेर–संरचना केवल सम्भावना हो र त्यसलाई प्रतिफलमा बदल्न ती हातहरुलाई सिप, ती सिपलाई रोजगारी र ती रोजगारीलाई उत्पादकत्वसँग जोड्नैपर्छ ।
बेरोजगार युवाको भीड लाभांश होइन, बरु जोखिम हो जसले अर्थतन्त्र होइन, असन्तोषमात्र बढाउँछ । यो कुनै सैद्धान्तिक बहस होइन । दक्षिण कोरिया, ताइवान र सिंगापुरले सन् १९७० र ८० को दशकमा ठीक यस्तै उमेर–संरचना पाएका थिए र त्यसलाई गुणस्तरीय शिक्षा, औद्योगिकीकरण र रोजगारी सिर्जनासँग जोडेर दक्षिणपूर्वी एसियाली चमत्कार रचेका थिए । अर्थशास्त्रीहरुका अनुसार ती मुलुकको तीव्र आर्थिक वृद्धिको झण्डै एक तिहाइ हिस्सा जनसांख्यिक लाभांशकै देन थियो । नेपालसँग हाल त्यही सामथ्र्य छ । फरक यत्ति हो कोरियाले आफ्ना युवालाई कारखाना र प्रयोगशालामा खटायो, हामी विमानस्थलबाट बिदाइ गरिरहेका छौं ।
विदेशतिर जनसांख्यिक लाभांश
नेपालको जनसांख्यिक सार्मथ्यको सबभन्दा ठूलो विडम्बना यहीं छ । जुन उमेर समूहका कारण मुलुक अवसरको शिखरमा हुनु पर्ने हो, त्यही उमेर समूह मुलुकभित्र छैन । जनगणना २०७८ का अनुसार २१ लाख ९० हजार ५ सय ९२ नेपालीहरु परिवारमा अनुपस्थित भइ अक्सर विदेशमा बसोबास गर्छन् । कुल जनसंख्याको साढे सात प्रतिशत् हाराहारी अनुपस्थितको संख्या छ । यीमध्ये ८२.२ प्रतिशत् पुरुष छन् र अधिकांश उत्पादनशील उमेरका छन् । हरेक साढे चार परिवारमध्ये एक परिवारको कोही न कोही सदस्य विदेशमा छन् । अन्तर्राष्ट्रिय बसाइँसराइको प्रवाह रोकिने छाँट छैन, बरु बढिरहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा पाँच लाख पाँच हजार ९ सय ५७ जनाले नयाँ र तीन लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने विगत पाँच वर्षमै ३५ लाखभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । गन्तव्यमा युएई, साउदी अरब, कतार, कुवेत र मलेसिया अग्रस्थानमा छन् । यससँगै शैक्षिक उन्नयनका नाममा अष्ट्रेलिया, जापान, क्यानडा र युरोपतर्फ बाहिरिने विद्यार्थीको लर्को छुट्टै छ । यसमध्ये ठूलो हिस्सा फर्कने सम्भावना कम छ ।
उता विदेसिने महिलाको संख्या पनि एक दशकमा ७१ प्रतिशत् बढेको जनगणनाले देखाउँछ । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०८२÷०८३ का अनुसार चालु आवको फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या १३.७ प्रतिशत् घटेको छ, तर पुनः स्वीकृति लिनेको संख्या भने १५.९ प्रतिशत् बढेको छ । यसको अर्थ आप्रवासनको प्रवाह रोकिएको होइन, बरु एकपटक गएकाहरु फर्केर स्वदेशमा बस्ने वातावरण पाइरहेका छैनन् । फेरि उतै फर्किरहेका छन् । वैदेशिक रोजगार अब आपत्कालीन विकल्प रहेन, पुस्तान्तरित जीवन पद्धति बन्दै छ । यसको आर्थिक प्रतिफल भने अंकमा चम्किलो देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आव २०८१÷०८२ मा १७ खर्ब २३ अर्ब विप्रेषण भित्रियो, जुन कुल गार्हस्थ्य उत्पादनको २८.६ प्रतिशत् हो र हालसम्मकै उच्च अनुपात मानिन्छ । चालु आवको १० महिनामा १९ खर्ब नाघिसकेको यस आर्थिक प्रवाहले नेपाललाई विप्रेषण–जीडीपी अनुपातमा विश्वकै अग्रणी १० देशमा उभ्याएको छ । विप्रेषणले गरिबी घटाएको, विदेशी मुद्रा सञ्चिति बलियो बनाएको र लाखौं घरपरिवारको भान्सा चलाएको यथार्थलाई नकार्न सकिँदैन । तर, विप्रेषण भनेको युवाश्रमको निर्यातबापत् प्राप्त मूल्य हो । हामीले मेसिन बेचेका छैनौं, मान्छे पठाएका छौं । खाडीको घाममा पसिना बगाएर आएको त्यस रकमको ठूलो हिस्सा उपभोग र आयातमै सकिन्छ । उत्पादनशील लगानीमा रुपान्तरण हुँदैन । अर्थतन्त्रले उत्पादन गर्न होइन, उपभोग गर्न सिकाइरहेको छ ।
देशमै उपयोग गर्न नसकिएको शक्ति
युवा किन विदेश जान्छन् भन्ने प्रश्नको उत्तर सजिलो छ । यहाँ काम छैन, भए पनि मर्यादित छैन । श्रमबजारमा हरेक वर्ष लाखौं युवा थपिन्छन्, तर तिनलाई खपत गर्ने गरी औपचारिक रोजगारी सिर्जना हुन सकेको छैन । जनगणना २०७८ कै तथ्यांकले १० वर्षमाथिका ३७.५ प्रतिशत् नेपालीले गणनाअघिको एक वर्षमा कुनै आर्थिक काम नगरेको देखाउँछ । जसले काम पाएका छन्, तिनको ठूलो हिस्सा न्यून उत्पादकत्वको अनौपचारिक क्षेत्रमा अल्झिएको छ । समस्या रोजगारीको संख्यामा मात्र होइन, गुणस्तर र तालमेलमा पनि छ ।
विश्वविद्यालयले वर्षेनि हजारौं स्नातक उत्पादन गर्छ, तर श्रमबजारले खोजेको सिप ती प्रमाणपत्रमा हुँदैन । कृषि आधुनिकीकरण हुन सकेको छैन र औद्योगिक क्षेत्रको योगदान खुम्चिँदो छ । दक्ष जनशक्ति जस्तै चिकित्सक, नर्स, इञ्जिनियर, सूचना प्रविधिविज्ञको पलायनले त सेवाप्रवाह र नवप्रवर्तन क्षमतामै नराम्रोसँग असर पु¥याएको छ । गाउँघरमा यसको सामाजिक पक्ष अझ कारुणिक छ जस्तैः बाँझा गरा, बुढाबुढी र बालबालिकामात्र भएका बस्ती, वर्षौं पर्खाइमा बित्ने दाम्पत्य र बाकसमा फर्किने छोराछोरीहरु ।
पलायनको मूल्य पैसाले नाप्न नसकिने गरी पनि तिरिँदैछ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने कामदारका तथ्यांक हरेक वर्ष वैदेशिक रोजगार बोर्डका प्रतिवेदनमा थपिँदै जान्छन् । एकल अभिभावकत्वको भारले किचिएका आमाहरु, बाबुको अनुहार तस्बिरमा मात्र चिन्ने बालबालिका र सामाजिक बिग्रहका अनेक रुप यी विप्रेषणको अंकमा कहीं लेखिँदैनन् । जुन गाउँका युवा खाडी गए, त्यही गाउँका पाखा बाँझा भए, खाद्यान्नमा आत्मनिर्भर जिल्लाहरु चामल किन्ने भए । श्रमशक्तिको यो रिक्तताले कृषि उत्पादन लागत बढाएको छ र त्यसले फेरि आयातलाई नै मलजल गरेको छ ।
अर्थशास्त्रमा यसलाई डच रोगको लक्षणसँग तुलना गरिन्छ । बाहिरबाट आउने सजिलो पैसाले भित्रको उत्पादन क्षमतालाई निमोठ्दै लैजाने अवस्था देखिन्छ । विप्रेषणले चलेको उपभोगमुखी अर्थतन्त्रले आयात बढाउँछ, आयातले व्यापार घाटा र त्यो घाटा टार्न फेरि थप युवा पठाउनुपर्ने बाध्यता । यो दुष्चक्रबाट मुलुक बाहिर निस्कन सकेको छैन । जनसांख्यिक लाभांशको दृष्टिले हेर्दा यो अवस्था अवसरको सोझो क्षय हो । हामीले आफ्नो सबैभन्दा मूल्यवान् स्रोत अरुका अर्थतन्त्र निर्माणमा लगाइरहेका छौं र बदलामा ज्याला भित्र्याइरहेका छौं ।
दोस्रो सङ्क्रमणको संघारमा नेपाल
जनसांख्यिक आयामको अझ गम्भीर पाटो अगाडि देखिन्छ । प्रतिस्थापन तहमा झरेको प्रजनन् दर, ढिलो हुँदै गएको विवाह, सानो परिवारको रोजाइ, २७ प्रतिशत् नाघेको सहरी बसोबास र फेरिँदो जीवनशैली आदिलाई जनसंख्याशास्त्रीहरु दोस्रो जनसांख्यिक सङ्क्रमणका लक्षण मान्छन् । जहाँ प्रजनन् दर प्रतिस्थापन तहभन्दा तल झरेर लामो समय उठ्दैन । युरोप, जापान र दक्षिण कोरिया यही बाटो हिँडेर श्रमशक्ति अभाव र वृद्ध हेरचाहको संकटसँग जुधिरहेका छन् ।
जापानले वृद्ध हेरचाहमा रोबोट भित्र्याउनुपरेको छ भने कोरियाले जन्मदर उकास्न खर्बौं खर्चेर पनि सफलता पाएको छैन । फरक के भने, ती मुलुक धनी भइसकेपछि बुढा भए । तिनीहरुसँग वृद्ध समाज धान्ने पुँजी, प्रविधि र संस्थागत् क्षमता छ । नेपाल भने धनी हुनुअघि नै बुढो हुने जोखिममा छ, जसलाई विकास–अर्थशास्त्रीहरु सबभन्दा प्रतिकूल जनसांख्यिक नियति मान्छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय र संयुक्त राष्ट्रसंघीय निकायहरुका जनसंख्या प्रक्षेपणले नेपालको जनसांख्यिक अवसरको झ्याल सन् २०४७ को हाराहारीसम्ममा क्रमशः बन्द हुँदै जाने देखाएका छन् । अर्थात्, हामीसँग बढीमा दुई दशक जतिमात्र छ । त्यसपछि ६० वर्षमाथिको जनसंख्याको अनुपात, जुन हाल नै १०.२१ प्रतिशत् पुगिसकेको छ, तीव्रगतिले बढ्नेछ । स्वास्थ्य सेवा, हेरचाह अर्थतन्त्र र सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व चुलिँदै जानेछ । तर, त्यो दायित्व धान्ने करदाता युवा या त विदेशमा हुनेछन्, वा जन्मिएकै हुने छैनन् । न्यून प्रजनन् र निरन्तर पलायनसँगै भोलि नेपाल आफैंले श्रमिक आयात गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न र केही क्षेत्रमा त्यसका संकेत देखिन थालेका छन् ।
यस परिदृष्य टार्न सकिन्छ, तर नीतिगत् साहस चाहिन्छ । पहिलो, शिक्षालाई सिप र बजारसँग जोड्ने आमूल सुधार चाहिन्छ, ताकि स्नातकको प्रमाणपत्र विदेश जाने हतियारमात्र नबनोस् । प्राविधिक तथा व्यावसायिक शिक्षालाई हेपिएको विकल्पबाट प्रतिष्ठित मूलधार बनाउन प्रदेश र स्थानीय तहसम्म लगानी विस्तार गर्नुपर्छ । दोस्रो, नीतिगत् स्थिरता, सरल प्रशासनिक प्रक्रिया र पूर्वाधारको सुनिश्चितसहित स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनुपर्छ ।











