सुनकोशी/सिन्धुली, फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेका छन्।
आज आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो।
घाइतेहरूको विवरण:
१. चालक जिल्ला ओखलढुंगा निवासी अं. २९ वर्षीय आशिष बिष्ट ।
२. जिल्ला खोटाङ, दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई ।
३. ऐ. सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई ।
४. जिल्ला खोटाङ, दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक ।
घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ।
दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ। घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य भइरहेको छ।
















