काठमाडौं/हिन्दु धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।
यस दिन विहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाइ पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टा“स्ने गरिन्छ ।
यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउ“द सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधि विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।
प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ्य रहन सक्छौं । मान्छेमात्र होइन, चराचर जगत्को सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत्रुपमा भगवान् शिवको पूजा गरे वा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।
नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतस“ग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे । यस महायज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवनकुण्डमा यति शक्तिशाली आगो प्रज्ज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर, स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् । तत्काल मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पले पुनर्जीवन पाउ“छन् ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छन् ।











