हेटौंडा । स्थानीय फुटबलको प्रवद्र्धन तथा खेलकुद गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना हुँदै आएको जनप्रवाह कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि हेटौंडामा सुरु हुँदैछ। जनप्रवाह फुटबल क्लबको आयोजनामा हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक संजीव अर्यालले प्रतियोगिताबारे जानकारी दिँदै सहभागी टोलीबीच नकआउट प्रणालीमा प्रतिस्पर्धा हुने बताए। शनिबारको उद्घाटन खेलमा भीमफेदी–४ को च्यूरी बगैंचा फुटबल क्लब र हेटौंडा–७ को नागस्वती युथ क्लब भिड्नेछन्। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँले गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ नगदसहित सम्मान गरिनेछ।
प्रतियोगिता सञ्चालनमा करिब ५ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हेटौंडा–५ वडा कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा हेटौंडा सिटी कलेज, आई अप्टिकल, शान्ति अप्टिकललगायतको सहयोग रहेको आयोजकले जनाएको छ।
जनप्रवाह कपको पहिलो संस्करणको उपाधि भुटनदेवी युवा क्लब, हेटौंडा–१० ले जितेको थियो।











