मकवानपुर । मनहरी गाउँपालिका–२ वडा कार्यालय र मनहरी गाउँपालिकाको मुख्य प्रायोजन तथा खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा तेस्रो वडाध्यक्ष भिमान स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
२०८३ साल कार्तिक १४ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिका–२, दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
१० वर्षे महान् जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। वि.सं. २०८१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप फराकिलो बनाउँदै मनहरी गाउँपालिकाभित्र मात्र सीमित नराखी देशका विभिन्न स्थानमा रहेका आधिकारिक रूपमा दर्ता भएका उत्कृष्ट क्लबहरूको सहभागिता गराइने आयोजकले जनाएको छ।
प्रतियोगिताले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै युवा पुस्तामा खेलकुदप्रतिको रुचि, अनुशासन, आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा सामाजिक एकता कायम गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
मनहरी गाउँपालिका–२ मा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको उल्लेख गर्दै यस क्षेत्रको खेलकुद, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ तथा प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २०८३ साल कार्तिक १० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि संयोजक चन्द्र सिंह स्याङ्तान, आर्थिक संयोजक इन्द्रदेव वाइबा तथा मिडिया संयोजक सूर्यबहादुर गोलेसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
खेलकुद विकास समिति मनहरी–२ का संयोजक चन्द्र सिंह स्याङ्तानद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।













