काठमाडौं/सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमाक्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८ सय ३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७ सय ९ जना, म्यानरमारबाट १ सय १३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको जानकारी दिए । उनले भने–दक्षिणपूर्वका कम्बोडया, म्यानमार, लावस र थाइल्याण्डको सीमाक्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेका छौं ।
दुतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष कम्बोडिया सरकारले जम्मा ६ सय २ जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताए । आर्थिक कुटनीतिलाई सघनरुपमा सञ्चालन गर्न आर्थिक वर्ष २०८१/०८२ मा भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र युएई गरी १० र यस वर्ष बाँकी १० देश गरी हाल २० वटा देशका लागि छुट्टाछुट्टै रणनीति तयार पारिएको पनि उनले बताए ।
मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्धेश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालयअन्तर्गत् रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ । राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन र नागरिकलाई सहज सेवा उपलब्ध गराउन सरकारले राहदानी ऐन, २०७६ को पहिलो संशोधनको विधेयकमा सर्वसाधारणको रायप्रतिक्रियाका लागि वेबसाइटमा राखिएको छ भने रायपरामर्श एवम् सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेस गरेको छ ।
‘छापिएका राहदानी शीघ्र सम्बन्धित जिल्ला र इलाका कार्यालयमा पु¥याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा असार १९ गते सम्झौता भएको छ । सोही दिनबाट उक्त सम्झौता लागु पनि भएको छ,’ उनले भने । मन्त्रालयले जनमैत्री सेवाप्रवाह गर्ने उद्धेश्यअनुरुप जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । प्रवक्ता पौडेलले भने–अर्थात्, जोजहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिनसक्ने व्यवस्थाका लागि काम भइरहेको छ ।











