हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ पर्व, इद, ल्होसारलगायत २०८३ सालका विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका कार्यवाहक अध्यक्ष भरत मोहन देवकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं हेटौंडा क्याम्पस व्यवस्थापन समितिका सदस्य नवीन सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा हेटौंडा क्याम्पस व्यवस्थापन समिति सदस्य शिवहरि दाहाल, सहायक क्याम्पस प्रमुख डा. लिलानाथ ढुंगेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख सन्तोष पौडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विद्यार्थी पार्टी इन्चार्ज आकाश अधिकारी तथा अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष रिजन जिसीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु हेटौंडा क्याम्पसका कार्यवाहक अध्यक्ष भरत मोहन देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको देश भएकाले यहाँका सबै चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश दिने बताउनुभयो। उहाँले चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र नभई एकअर्काको संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै सामाजिक एकता सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।
देवकोटाले विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र रचनात्मकताको विकास गर्दै क्याम्पसलाई शैक्षिक गतिविधिसँगै सांस्कृतिक तथा सामाजिक गतिविधिको पनि साझा केन्द्र बनाउने उद्देश्यले स्ववियुले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीको हकहित, क्षमता विकास र नेतृत्व निर्माणका साथै क्याम्पसको समग्र शैक्षिक वातावरण सुधारका लागि स्ववियु निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। साथै, उहाँले सम्पूर्णमा २०८३ सालका विभिन्न चाडपर्वको शुभकामना व्यक्त गर्दै सबै चाडपर्वले समाजमा सुख, शान्ति, समृद्धि र एकताको भावना अभिवृद्धि गरून् भन्ने कामना गर्नुभयो।
कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि, स्ववियु हेटौंडा क्याम्पसका पदाधिकारी तथा सदस्यहरू र क्याम्पसमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिसँग सम्बन्धित चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले आपसी सद्भाव, एकता, सहिष्णुता र सांस्कृतिक विविधताको सम्मानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै स्ववियु सदस्य एवं कार्यक्रम सञ्चालक नितेश भण्डारीले उक्त जानकारी दिनुभएको हो।














