हेटौंडा । विद्यालय शिक्षाको पहिलो गेट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीबीचको प्रतिस्पर्धामा हेटौंडा—७ कि रोसमेरी थिङ्गले जित हात पारेकी छन् । काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्राण्ड एसईई अवार्ड—२०२६ मा सहभागीहरुलाई पछि पार्दै उनले ग्राण्ड मिस एसईईको उपाधि उचालेकी हुन् ।
निर्णायकहरुले व्यक्तित्व, प्रस्तुति कला, आत्मविश्वास, प्रतिभा प्रदर्शन तथा समग्र क्षमताका आधारमा विजेताहरु छनौट गरिएको थियो । विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरुलाई ताज, पदक, स्यास तथा सम्मानपत्र प्रदान गरिएको थियो । हेटौंडा—७ मा रहेको तासिर इङ्गलिस बोर्डिङ्ग स्कुलबाट एसईई उत्तीर्ण गरेकी उनले उपाधिसहित नगद ५० हजार हात पारिन् । विजेता थिङ्गले निःशुल्क २ वर्षेे एयरहोस्टेज, २ वर्षे कलाकारिता तालिमसहित पुरस्कार हात पारेकी छन् । अध्ययनसँगै कलाक्षेत्रमा पनि लगाव रहेको बताउने उनी करियरमा दवै पक्षलाई समेटेर अघि बढाउने बताउँछिन् ।
एसईई उत्तीर्ण विद्यार्थीहरुमा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो । समारोहको आकर्षणका रुपमा विजेतालाई ताज लगाइदिने विशेष क्षण थियो । सहभागीहरुले विभिन्न राउण्डमा आफ्नो क्षमता प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरुको मन जितेका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेशनशो तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।












