हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका–३ का २ टोलविकास संस्थालाई चप्पल बनाउने मेसिन हस्तान्तरण गरेको छ । टोलविकास संस्थालाई अब्बल बनाउनुका साथै संस्थामा आवद्ध रहेकाहरुको सशक्तीकरणका लागि चप्पल बनाउने मेसिन हस्तान्तरण गरिएको हो ।
वडाको ५ लाख बजेटबाट लामिटारमा रहेको शिवशक्ति टोलविकास संस्था र हाँडीखोलामा रहेको रहेको साझा टोलविकास संस्थालाई चप्पल बनाउने मेसिन हस्तान्तरण गरिएको छ । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थसहित मेसिन हस्तान्तरण गरिएको हो । शिवशक्ति टोलविकासका अध्यक्ष इन्दिरा राई र साझा टोलविकास अध्यक्ष अखिल पुडासैनीलाई मेसिन हस्तान्तरण गरिएको छ ।
पालिका अध्यक्ष कालाखेतीले टोलविकास संस्थाले सिर्जनात्मक गतिविधिसँगै उत्पादन गर्नुपर्ने सुझाव दिए । पालिकामा रहेका टोलविकास संस्थामा रहेकाहरुको क्षमता वृद्धिलगायतमा सहयोग गर्न पालिका सदैंव तयार रहेको उनको भनाइ थियो । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा सदस्य हीराबहादुर प्रजालगायतले मेसिन हस्तान्तरण गरेका हुन् ।
वडा अध्यक्ष अर्यालले टोलविकास संस्थालाई अब्बल बनाउँदै टोलविकासमा आवद्ध रहेकाहरुको आर्थिक सशक्तीकरणका लागि चप्पल बनाउने मेसिन सहयोग गरिएको बताए । ‘वडाको ५ लाख सिलिङ बजेटबाट मेसिन खरिद गरेका हौं,’ अर्यालले भने–यसलाई दुवै टोलविकास संस्थाले भरपुर सदुपयोग गर्नेछन् भन्ने विस्वास लिएका छौं । कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति थियो ।












