काठमाडौं/आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, दीक्षा, गायत्री तथा वेद मन्त्र प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।

गुरुपूर्णिमालाई वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्तीका रूपमा पनि मनाइने परम्परा छ। वैदिककालदेखि नै गुरुको सम्मानमा यो पर्व मनाइँदै आएको मानिन्छ।

यस अवसरमा शिष्यहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्दै मिष्ठान्न भोजन गराउने, आशीर्वाद लिने तथा श्रद्धाभाव प्रकट गर्ने परम्परा रहेको छ। नेपाली समाजमा गुरुलाई आमा–बुबासरह सम्मान गर्ने संस्कार रहिआएको छ।

गुरुपूर्णिमाका अवसरमा देशभरका विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षा र ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान व्यक्त गरिरहेका छन्।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। तन्त्रशास्त्र तथा धर्मशास्त्रका अनुसार अज्ञानरूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई ‘गुरु’ भनिन्छ। यही भावनालाई आत्मसात् गर्दै प्रत्येक वर्ष गुरुपूर्णिमा मनाइने गरिन्छ।