हेटौँडा/ लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापना क्षेत्रमा कार्यरत सिआन पुनर्स्थापना केन्द्रले आर्थिक वर्ष २०८२/०८३ मा २५१ जनालाई उपचार तथा पुनर्स्थापना सेवा प्रदान गरेको जनाएको छ। केन्द्रले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजना गरेको समीक्षा तथा सुझाव सङ्कलन कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आगामी योजनासमेत सार्वजनिक गरेको हो।
केन्द्रका प्रमुख सञ्चालन अधिकृत मनिशमान श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सेवा लिनेमध्ये १६९ पुरुष र ८२ महिला रहेका छन्। उपचारपछि १६८ जना सफलतापूर्वक समाजमा पुनःस्थापित भएका छन् भने ७९ जना अझै उपचार प्रक्रियामा छन्। आर्थिक अवस्था कमजोर भएका १० जनालाई निःशुल्क सेवा उपलब्ध गराइएको जानकारी पनि उहाँले दिनुभयो।
प्रतिवेदनअनुसार केन्द्रले एक वर्षको अवधिमा १ हजार १८५ व्यक्तिगत परामर्श, ८५० पारिवारिक परामर्श, ३६५ योग तथा ध्यान कक्षा, ११२ प्रेरणामूलक सत्र र ८५ अतिथि व्याख्यान सञ्चालन गरेको छ। साथै पुनःलत रोकथाम, मनोसामाजिक परामर्श, व्यावसायिक सीप विकास र सामाजिक पुनःएकीकरणका कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
सिआनले सञ्चालन गरिरहेको क्षति न्यूनीकरण परियोजनामार्फत एचआईभी तथा लागूऔषध दुरुपयोग रोकथाम, सुरक्षित सुई र कन्डम वितरण, स्वास्थ्य परीक्षण, व्यवहार परिवर्तन कार्यक्रम तथा समुदायस्तरका सचेतनामूलक अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिआनको कार्यशैली पारदर्शी र परिणाममुखी रहेको उल्लेख गर्दै स्थानीय तहसँग अझ सुदृढ सहकार्य गरी मानवअधिकारमैत्री सेवा विस्तार गर्न सुझाव दिनुभयो। उहाँले सिआनलाई अन्य सामाजिक संस्थाका लागि अनुकरणीय संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा पनि राख्नुभयो।
प्रतिवेदनमा उत्कृष्ट कार्यसम्पादनका आधारमा गृह मन्त्रालयबाट अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा सम्मानसहित एक लाख रुपैयाँ अनुदान प्राप्त भएको उल्लेख गरिएको छ। साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सेवा सम्झौता, तीनमहिने लागूऔषधविरुद्धको जिल्ला अभियान तथा मकवानपुर र चितवनका विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्ले, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, सिआनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।
सिआनले आगामी आर्थिक वर्ष २०८३/०८४ मा मानसिक स्वास्थ्य सेवा विस्तार, महिला तथा पुरुष लक्षित विशिष्टीकृत सेवा सुदृढीकरण, स्थानीय तहसँग साझेदारी, व्यावसायिक सीप विकास तथा समुदायमा आधारित लागूऔषधविरुद्धका अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।












