हेटौँडा/ हेटौँडा उपमहानगरपालिका–४ ले ज्येष्ठ नागरिकको सम्मान र सहजताका लागि लोकतान्त्रिक चौर (हुप्र) मा स्थापना गरिएको ज्येष्ठ नागरिक कक्षको शनिबार औपचारिक उद्घाटन गरेको छ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कक्षको उद्घाटन गर्दै समाज र राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको योगदान अतुलनीय रहेको उल्लेख गरे। उनले ज्येष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

सो अवसरमा वडा नं. ४ भित्रका २ सय ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानजनक जीवन सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिएको थियो।

वडा अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सुझावलाई समाज विकासको आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।