हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा प्राकृतिक विपद् न्यूनीकरणका लागि स्थानीय सरकार थप जिम्मेवार र सक्रिय हुनुपर्ने बताएका छन् ।

शुक्रबार हेटौँडास्थित एभोकाडो होटलमा आयोजित जलवायु न्यायसम्बन्धी प्रादेशिक कार्यशालामा बोल्दै घलानले जलवायु परिवर्तनको असर नेपालमा बढ्दै गएको भन्दै त्यसको सामना गर्न स्थानीय तहले विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको नकारात्मक असर भने ठूलो मात्रामा भोग्नुपरेको उनको भनाइ थियो । जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणाली र मौसममा असामान्य परिवर्तन देखिन थालेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा समेत बाढीपहिरोजस्ता विपद् देखिन थालेको बताए ।‘हिउँ पर्ने ठाउँमा बाढीपहिरो आइरहेको छ,’ उनले भने ।

‘जलवायु न्यायमा स्थानीय र प्रदेश सरकारको नीतिगत मूलप्रवाहीकरणदेखि कोपसम्म’ विषयक कार्यशालामा स्थानीय स्तरमा देखिएका जलवायु परिवर्तनका समस्या तथा सवाललाई अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप) सम्म पुर्‍याउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रदेश सचिव डा. केदार बरालले कोप सम्मेलनमा उठाइने विषय, जलवायु परिवर्तनका चुनौती तथा अन्तर्राष्ट्रियस्तरमा हुने छलफलका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले स्थानीय स्तरका समस्या समाधानका लागि प्रभावकारी नीति निर्माण, स्थानीय सवालको समावेशीकरण र सरकारी पहल आवश्यक रहेको औँल्याए ।

तापक्रम वृद्धिका कारण उत्पन्न भइरहेका चुनौतीको चर्चा गर्दै बरालले जलवायु जोखिमको पहिचान गरी समुदायलाई त्यसको सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए ।

कार्यशालाको उद्देश्य स्थानीय तहका जनप्रतिनिधिलाई आगामी नीति तथा बजेट निर्माणमा जलवायु परिवर्तनका विषयलाई प्राथमिकताका साथ समेट्न सक्षम बनाउनु रहेको मकवानपुरमा उत्थान समाजकी अध्यक्ष कमला सुवेदीले जानकारी दिइन् ।

सामुदायिक विकास तथा सचेतना विकास र एनआईसीए हेटौँडाको सहकार्यमा आयोजित कार्यशालामा बागमती प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, महाशाखा प्रमुख र प्रदेश प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।