मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशिको पत्रकारिता पुरस्कारबाट पत्रकार सुदीप शिवाकोटी सम्मानित भएका छन् ।
शुक्रबार शुभदीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा शिवाकोटीलाई नगद ५० हजार रुपैयाँ राशिको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको हो ।
प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता शिवाकोटीलाई युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
उक्त पुरस्कार स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव चिरञ्जीवी ढकालले सहयोग गरेका थिए । हाल बेलायतमा रहेका ढकालको सहयोगमा पुरस्कार स्थापना गरिएको हो ।
पत्रकारितामा लामो समयदेखि सक्रिय शिवाकोटी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व सदस्य तथा मकवानपुर शाखाका पूर्व कोषाध्यक्षसमेत हुन् ।



















