नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइँदैछ। यस अवसरमा घरघरमा सुरक्षाका लागि पालिएका कुकुरको पूजा गरी फूलमाला लगाइदिने, टीका लगाउने र मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपालका रूपमा लिइन्छ। श्याम र सबल नामका दुई कुकुरले यमलोकको ढोकामा पहरा दिने भएकाले आजको दिन कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाउने चलन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताएका छन्।
धार्मिक ग्रन्थहरूमा कुकुरलाई धर्म र निष्ठाको प्रतीकका रूपमा समेत वर्णन गरिएको छ। महाभारतमा धर्मराज युधिष्ठिर स्वर्ग जाने क्रममा कुकुरले साथ दिएको प्रसङ्गले पनि यसको धार्मिक महत्त्वलाई उजागर गर्छ। मानिसको आज्ञा पालना गर्ने र घरको सुरक्षामा सहयोग पुर्याउने भएकाले कुकुरलाई विश्वासिलो साथीका रूपमा समेत सम्मान गरिन्छ।
आजकै दिन नरक चतुर्दशी पनि मनाइन्छ। यस दिन बिहानै अरुणोदयकालमा नदी, तलाउ तथा तीर्थस्थलमा स्नान र तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर यमदीप बालेर बगाउने धार्मिक परम्परा छ। यसरी दीपदान गर्नाले मृत्युपछि नरकको कष्ट भोग्न नपर्ने धार्मिक विश्वास रहेको छ। दीप बगाउने यस विधिलाई नरके बगाउने भनिन्छ।
यमपञ्चकका पाँचै दिन शरीरमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ। यस्तो अभ्यासले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने आयुर्वेदिक मान्यता छ। धार्मिक आस्था, परम्परा र स्वास्थ्यसँग जोडिएको तिहार नेपाली समाजमा विशेष उल्लासका साथ मनाइँदै आएको छ।



















