मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित जिर्खे खोलामा निर्माणाधीन पक्की पुलको काम एक वर्षभन्दा बढी समय बित्दा पनि ३० प्रतिशत मात्रै सम्पन्न भएको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण प्रभावित हुँदा करिब ३० हजार नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
मनहरी र राक्सिराङ गाउँपालिका जोड्ने पुल निर्माणका लागि बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। ६ करोड ५३ लाख रुपैयाँमा बिन्ध्याचल निर्माण सेवाले ठेक्का लिएको पुल २०८४ असारसम्म सम्पन्न गर्नुपर्नेछ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीका अनुसार हालसम्म २ करोड १२ लाख रुपैयाँ खर्च भए पनि निर्माणको प्रगति ३० प्रतिशत मात्रै छ। निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिएको र समयमै काम सम्पन्न नगरे कानुनी कारबाही गरिने उहाँले बताउनुभयो।
निर्माण कम्पनीका प्रतिनिधि हरिवंश बर्तौलाले ढुवानीमा समस्या भएकाले काम प्रभावित भएको बताउँदै चाडपर्वपछि निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभएको छ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङले पुल निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउनुभएको छ। वर्षायाममा खोला तर्न जोखिम हुने र बिरामीलाई अस्पताल पुर्याउनसमेत समस्या हुने गरेको उहाँहरूको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि निर्माणमा चासो देखाउँदै स्थलगत अनुगमन र समयमै काम सम्पन्न नभए कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि राक्सिराङ र कैलाशका करिब ३० हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।























