हेटौंडा/सन् २०२७ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष र उपाध्यक्षमा मकवानपुरका युवाहरुले दर्ता गरेर दाबेदारी प्रस्तुत गरेका छन् । अध्यक्षमा हेटौंडा जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीज हालका कार्यकारिणी उपाध्यक्ष सिनेटर विकेशलाल श्रेष्ठ र राष्ट्रिय उपाध्यक्षमा पालुङका सञ्जय गोपालीले उम्मेद्वारीले औपचारिकरुपमा दर्ता गराएका हुन्

सन् २०१८ मा हेटौंडा जेसीजको साधारण सदस्यबाट आफ्नो जेसीज यात्रा सुरु गरेका श्रेष्ठले विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै यस पटक राष्ट्रिय अध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । उनले यसअघि सन् २०२४ मा हेटौंडा जेसीज अध्यक्ष, सन् २०२५ मा नेपाल जेसीज महासचिव तथा सन् २०२६ मा नेपाल जेसीज कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निर्वाह गरिसकेका छन् । आफ्नो उम्मेद्वारी घोषणा गर्दै सिनेटर श्रेष्ठले यस यात्रा व्यक्तिगत् पद र प्रतिष्ठामात्र नभइ सम्पूर्ण जेसीजकर्मीको विश्वास, माया र प्रेरणाको प्रतिफल भएको बताए । उनले नेपाल जेसीजलाई अझ सशक्त, गतिशील तथा प्रभावकारी बनाउन साझा सपना र सामूहिक नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

‘पदका लागिमात्र होइन, उद्धेश्यका लागि एकजुट बनौं । नेतृत्वका लागिमात्र होइन, परिवर्तनका लागि अघि बढौं’ भन्ने मूल मन्त्रसहित श्रेष्ठले आगामी दिनमा पनि सम्पूर्ण अग्रज, समकालीन तथा जेसीज सदस्यहरुको अमूल्य सुझाव, मार्गदर्शन, सहयोग र समर्थनको अपेक्षा गरेका छन् । ‘यी सबै जिम्मेवारी मेरा लागि केवल पद र प्रतिष्ठामात्र होइनन्, बरु तपाईंहरु सम्पूर्णको विश्वास, माया, प्रेरणा र निरन्तर सहयोगका अमूल्य प्रतिफल हुन्,’ उनले भने–यस यात्रामा साथ दिने अग्रज, समकालीन तथा सम्पूर्ण जेसीज साथीहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । उनको उम्मेदवारीले संस्थाको भविष्यलाई अझ उज्ज्वल बनाउन र हरेक शाखा तथा सदस्यको आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सन् २०२७ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेद्वारी औपचारिकरुपमा दर्ता गराएको जानकारी गराउन पाउ“दा अत्यन्त गौरवान्वित र भावुक बनेको उनको भनाइ छ ।

पालुङ जेसीज वर्ष २०२६ का अध्यक्ष गोपालीले नेपाल जेसीज वर्ष सन् २०२७ का लागि उपाध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । मकवानपुर जिल्लाको पर्यटकीय नगर थाहामा रहेको पालुङ जेसीजमा उनी वर्ष २०१७ मा सदस्य, २०१८ मा महाधिवेशन संयोजक, २०१९ मा सदस्य, २०२० मा जेसीज इन स्कुल संयोजक र ओमकर क्विज कन्टेस्ट संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा कार्यकारिणी उपाध्यक्ष, २०२३ मा महासचिव, २०२४ मा कोषाध्यक्ष र २०२६ मा शाखा अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका गोपालीले नेपाल जेसीजमा पालुङ जेसीजको छविलाई उच्च बनाइ थाहा नगरको पहिचानलाई देशव्यापी बनाउन आफूले उम्मेद्वारी दिएको बताए । मानविकी तथा समाजशास्त्र विषयमा स्नातक गरेका गोपाली पालुङ बहुमुखी क्याम्पसका लेखापाल एवम् पालुङ मोर्डन इङ्ग्लिस स्कुलका प्रधानाध्यापक हुन् । युवामाझ लोकप्रिय गोपाली स्थानीय सामाजिक संघसंस्थामा पनि सक्रिय छन् ।

१२ जना आवश्यक नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङ जेसीजका गोपालीस“गै १९ जनाको उम्मेद्वारी परेको छ । नेपाल जेसीजको पुस ८ गतेदेखि ११ गतेसम्म भद्रपुर जेसीजको आतिथ्यतामा हुने ५३ औं महाधिवेशनले नेपाल जेसीज वर्ष २०२७ का लागि नया“ कार्यसमिति चयन गर्नेछ । नेपाल जेसीज वर्ष २०२७ को १ अध्यक्षका लागि ४ जना र ४ कार्यकारिणी उपाध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ ।