हेटौँडा/हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल चौरमा आगामी कार्तिक १३ गतेदेखि १७ गतेसम्म निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य, शान्ति र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको शिविरबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

“घरघरमा योग, जनजनमा योग, सबै निरोग सदा मेरो आरोग्य नागरिक” भन्ने मूल नाराका साथ सञ्चालन हुने शिविरमा करिब एक हजार पाँच सय योगप्रेमी तथा नगरवासी सहभागी हुने आयोजकको अनुमान छ। पत्रकार सम्मेलनमा योग अभियन्ताहरू रामकृष्ण थापा, राजन थापालगायतको उपस्थिति थियो।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुने शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष लवदेव मिश्रले मुख्य प्रशिक्षकका रूपमा योग अभ्यास गराउनेछन्। सहभागीका लागि आवश्यक योग म्याटको व्यवस्था आयोजक समितिले नै गर्ने जनाएको छ।

पाँचदिने शिविरको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। त्यस्तै, कार्तिक १४ गते वडा नम्बर ६, ७ र ८ का वडाध्यक्षहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी दैनिक सत्रको सुरुवात गर्नेछन्।

कार्तिक १५ गते हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, १६ गते जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको आतिथ्यतामा कार्यक्रम सञ्चालन हुनेछ। शिविरको समापन कार्तिक १७ गते बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको आतिथ्यतामा गरिने आयोजकले जानकारी दिएको छ।

शिविर सञ्चालनका लागि हेटौँडा–७ वडा कार्यालयले दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बाँकी खर्च अन्य सहयोगदाताबाट जुटाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै, टाढाबाट आउने सहभागीलाई सहज बनाउन विभिन्न विद्यालयका बससँग समन्वय गरी यातायातको व्यवस्था मिलाइने आयोजकले जनाएको छ।

योगले शारीरिक तथा मानसिक स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धनमा सहयोग पुर्‍याउने भएकाले शिविरमा सहभागी भई लाभ लिन आयोजक समितिले सम्पूर्ण नगरवासी तथा योगप्रेमीलाई आग्रह गरेको छ।