हेटौंडा । मकवानपुरगढी गाउँपालिका—३ ले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व, उत्कृष्ट विद्यार्थी, कृषक, खेलाडी, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षाभत्ता प्राप्त लक्षितवर्गलाई सम्मान गर्दै लक्षितवर्ग सम्मान कार्यक्रम गरेको छ । २०७६ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रमअन्तर्गत् यस वर्ष विभिन्न विधाका २९ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा, कृषि, सहकारी, खेलकुद, वातावरण संरक्षण, सामाजिक सेवा तथा सामुदायिक विकासका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । मकवानपुरगढी—३ मा जन्मिएर विद्यावारिधि उपाधि हासिल गरेका डा. दीपक अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो । सहकारी प्रशिक्षक तथा सहकारी अभियन्ता गोबिन्द दाहाल, शिक्षाक्षेत्रतर्फ भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, शिवराम फुयाँल र विष्णुमाया नगरकोटी, बासु अधिकारी, मनमोहन देबकोटा र बिमल दाहाललाई सम्मान गरिएको थियो ।
शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उत्कृष्ट जीपीए ल्याएकी रीतिका थापाले ७ हजार पुरस्कार प्राप्त गरिन् भने सायम पाख्रिन, क्रिशा पुडासैनी, किरण लम्साल, विधान पाख्रिन र उज्ज्वल बिश्वकर्मालाई जनही ५ हजार प्रदान गरिएको थियो ।
खेलकुदतर्फ मकवानपुरको महिला क्रिकेट टोलीमा छनौट भएका भानु माध्यमिक विद्यालयका विद्यार्थीहरु रीतिका थापा, विषिका भट्टराई, पुजना दाहाल, रोहिनी पाख्रिन, शुभद्रा योञ्जन, सोनीमाया रुम्बा, सपना सुनार, सरस्वती अर्याल र इशा घिसिङलाई सम्मान गरिएको थियो । क्रिकेट विकासमा योगदान पु¥याएको भन्दै प्रशिक्षक तथा खेलकर्मी रवीन्द्रविक्रम सापकोटालाई सम्मान प्रदान गरिएको छ । कृषिक्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने पोल्ट्री व्यवसायी गणेश सिलवालसहित दुग्ध उत्पादन तथा व्यावसायिक कृषिमा सक्रिय कृषकहरुलाई सम्मान गरिएको छ । जसमा उत्कृष्ट दुघ उत्पादक किसानतर्फ केदार पुडासैनी, लक्ष्मी फयँल, सोमबहादुर सुनार र सिंहबहादुर लुङ्वालाई सम्मान गरिएको छ ।
कार्यक्रममा सामाजिक सुरक्षाभत्ता प्राप्त ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, असहाय तथा एकल महिला गरी ९ जनालाई सम्मानस्वरुप ब्ल्यांकेट वितरण गरिएको थियो । सम्मानित हुनेहरुमा सोमराज घिमिरे, वीरबहादुर घलान, छविलाल सुञ्चुरी, राधिका तिमल्सिना, खिलाकुमारी दाहाल, गीताकुमारी ढुंगेल, विष्णुमाया थोकर, रेनु दाहाल र सीता घिमिरे छन् ।
कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामास्यांतानले समाज निर्माणमा योगदान पु¥याउने व्यक्तित्व, ज्येष्ठ नागरिक तथा प्रतिभावान् विद्यार्थीहरुको सम्मान गर्न स्थानीय सरकारको दायित्व भएको बताए । उनले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, सम्मानको संस्कृति तथा सकारात्मक प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उल्लेख गरे । उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले वडा नम्बर—३ ले सञ्चालन गर्दै आएको सम्मान कार्यक्रम अनुकरणीय रहेको बताउँदै यसले समाजमा सकारात्मक सन्देशप्रवाह गरेको धारणा व्यक्त गरिन् । पालिकाले समेत विभिन्न लक्षितवर्गलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।
वडा अध्यक्ष भागवत् घिमिरेले सम्मान कार्यक्रम २०७६ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको र प्रत्येक वर्ष एक लाख बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए । शिक्षा, कृषि, सामाजिक सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, टोलविकास संस्था, सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो । कार्यक्रम वडा सचिव सोनिका अर्यालले सञ्चालन गरेकी थिइन् । वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष लामास्यांतानको प्रमुख आतिथ्यता र वडा अध्यक्ष घिमिरेको सभाध्यक्षता थियो ।



















