हेटौंडा/टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा उपमहानगरपालिका वडा–८ को आयोजनामा सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम भएको छ । हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्रांगणमा आयोजित समारोहमा वडाभित्र बसोबास गर्ने तथा कक्षा–१२ को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ९२ विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई भविष्यको सही मार्ग पहिचान गर्न र बजारको मागअनुसार विषय रोज्न मद्धत पु¥याउने उद्धेश्यले कार्यक्रममा करियर काउन्सिलिङसमेत प्रदान गरिएको थियो ।
टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–८ का अध्यक्ष कुमार केसीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि थिए । कार्यक्रम उद्घाटन गर्दै पौडेलले विद्यार्थी जीवनमा सही मार्गदर्शन र करियर काउन्सिलिङको निकै ठूलो महत्व रहने औंल्याए । उनले शिक्षालाई प्रविधिमैत्री र व्यवहारिक बनाउँदै युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ राज्य र स्थानीय निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा टोलविकास संस्था वडा समन्वय समिति अध्यक्ष केसीले हेटौंडा–८ भित्रका कुनै पनि विद्यार्थीले अब आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुनुनपर्ने र कसैको पनि पढाइ नरोकिने उद्घोष गरे । उनले भने–म स्वयम् पनि शैक्षिक क्षेत्रकै व्यक्ति भएकाले विद्यार्थीका समस्याहरुलाई नजिकबाट बुझेको छु । विद्यार्थीहरुले भोग्नुपर्ने हरेक समस्या समाधान गर्न र उनीहरुको उज्ज्वल भविष्यका लागि टोलविकास संस्था वडा समन्वय समिति सधैं तयार रहनेछ ।
कार्यक्रमका विशिष्ट अतिथि टोलविकास नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडा–८ को समन्वय समितिको कार्यकुशलताको प्रशंसा गरे । उनले इतिहासकै क्रियाशील, जनताको भावना बुझेको, जनतासँग प्रत्यक्ष जोडिएको र टोलविकास संस्थाहरुलाई कुशलढंगले परिचालन गर्न सक्ने नेतृत्व वडाले पाएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण थापा तथा हेटौंडा उपमहानगरपालिकाका अन्य जनप्रतिनिधिहरु विशिष्ट अतिथि रहे । उनीहरुले वडाको शैक्षिक विकास र युवाहरुको वृत्तिविकासका लागि टोलविकास संस्थाले खेलेको भूमिकाको उच्च प्रसंशा गरे ।














