हेटौंडा/नेपाललाई परनिर्भरताबाट मुक्त गर्न साल्ट ट्रेडिङले उत्पादनमूलक उद्योगमा नेतृत्वदायी भूमिका खेलेको छ । २०२७ मा शिलान्यास भइ २०२९ मा हेटौंडामा स्थापना भएको देशकै पहिलो मैदा मिलले स्वदेशी गहु“को मूल्य अभिवृद्धि गरी किसानलाई उचित मूल्य दिलायो । शान्ति वनस्पति घिउ उद्योगले स्वदेशमै घिउ उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान ग¥यो ।
प्याकेजिङ कार्य गर्ने हिमालय प्याकेजिङमा कार्यरत् ५ सय भन्दा बढी कर्मचारीमध्ये ९० प्रतिशत्भन्दा बढी महिला कामदार रहेकाले यो महिला सशक्तीकरणको नमूना संस्था बनेको छ । कृषिक्षेत्रमा सरकारले दिने अनुदानित रासायनिक मल (युरिया, डीएपी, पोटास) का साथै गैरअनुदानित उन्नत मलहरु किसानसम्म पु¥याइएको छ । हेटौंडाको बीउ प्रशोधन कारखानामार्फत् ‘बाई–ब्याक ग्यारेन्टी’ मा गहु“को बीउ उत्पादन गराइन्छ ।
विपद्को समयमा नागरिकको जीवनरक्षा, उद्धार तथा अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न नेपालका सार्वजनिक तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलका संस्थानहरुले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । हालै भोटेकोशीको बिनाशकारी बाढीपहिरो र प्राकृतिक विपत्तिले जनजीवन अस्तव्यस्त बनाएका बेला नेपाल टेलिकम, नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी (खाद्य संस्थान), नेपाल विद्युत् प्राधिकरण र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) ले अग्रपंक्तिमा खटिएर ठूलो योगदान पु¥याएका छन् ।
दुरसञ्चार सेवालाई निरन्तरता दिन नेपाल टेलिकम, इन्धन आपूर्ति सहज बनाउन नेपाल आयल निगम, खाद्यान्न उपलब्ध गराउन खाद्य संस्थान र अवरुद्ध विद्युत् सेवा तत्काल सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले रातदिन खटिएर नागरिकलाई राहत दिलाएका हुन् । यस क्रममा ६४ वर्षदेखि मुलुकको आपूर्तिको बलियो खम्बा बनेर उभिएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विपद्को यस विषम् घडीमा खाद्यान्न आपूर्ति व्यवस्थापनस“गै राहत कोषमा ठूलो आर्थिक सहयोगसमेत गरेको छ ।
कर्पोरेशनले बाढीपहिरोबाट अतिप्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल ६० लाख उपलब्ध गराएको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख र संस्थाका कर्मचारीहरुको तलबबाट कट्टा गरी १० लाख कोषमा हस्तान्तरण गरिएको हो । कर्पोरेशनले विपद्प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर जारी राख्दै सरकारको उद्धार प्रयासमा पूर्ण ऐक्यबद्धता जनाएको छ ।
विपद्को संकटपूर्ण घडीमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले आफ्नो ६४ औं वार्षिकोत्सवको तडकभडक र वाह्य तामझामलाई पूर्णरुपमा त्यागेर सम्पूर्ण ध्यान नागरिक सेवा र आपूर्ति व्यवस्थापनमा केन्द्रित गरेको बताए । ‘२०२० भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङले ६४ वर्षदेखि आपूर्तिको बलियो खम्बा बनेर निरन्तर सेवा दि“दै आएको छ,’ झा भन्छन्–विपद्को समयमा खुला बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुने जोखिम रहने भएकाले हामीले उत्सव मनाउनुभन्दा पनि नागरिकलाई सर्वसुलभ मूल्यमा अत्यावश्यक सामग्रीको आपूर्ति निर्वाधरुपमा पु¥याउनेतर्फ जोड दि“दै आएका छौं ।
उनका अनुसार सडकसञ्जाल अवरुद्ध हुनेबित्तिकै पनि संस्थाले पूर्वतयारीसाथ बजार हस्तक्षेप गरी मूल्य वृद्धिरोक्न सफल भएको छ । विपद्को बेला निजीक्षेत्र कतिपय अवस्थामा सुस्त वा पर्ख र हेरको स्थितिमा रह“दा साल्ट ट्रेडिङजस्ता सार्वजनिक–निजी साझेदारीका संस्थाहरु भने नागरिकको ‘लाइफलाइन’ बन्ने गरेका छन् । राजमार्ग ठप्प हुनु अघिल्लो दिन नै काठमाडौंमा ३० ट्रक (६०० मेट्रिकटन) चिनी भिœयाएको साल्ट ट्रेडिङले एकै दिन १ सय ४३ ट्रक (करिब ३ हजार मेट्रिकटन) चिनी देशभरका डिपोमा परिचालन गरेको थियो ।
बजारमा चिनीको मूल्य प्रतिकिलो १ सय ५० देखि १ सय ६० सम्म पु¥याइ“दा कर्पोरेशनले १ सय ५ मै उपलब्ध गराएर बिचौलियाको नाफाखोरी रोकेको छ । हाल कर्पोरेशनस“ग देशभर १ लाख २७ हजार मेट्रिकटनभन्दा बढी नुनको मौज्दात छ । जसले आगामी ७ महिनाभन्दा बढीको राष्ट्रिय माग सहज धान्छ । साल्ट ट्रेडिङले २०७२ को भुकम्प, ६ महिना लामो नाकाबन्दी र कोभिड–१९ को बन्दाबन्दीमा मात्र नभइ २०३० को दशकमा देशभर नुनमा आयोडिन सम्मिश्रण गरी गलगा“ड र आयोडिन न्यूनतासम्बन्धि समस्या उन्मूलन गर्नसमेत ऐतिहासिक क्रान्ति गरेको थियो ।
औद्योगिक विकास, महिला सशक्तीकरण, जनक शिक्षालाई कागज आपूर्ति, रासायनिक मल तथा बीउबिजन वितरण र भुकम्पप्रतिरोधी एलजीएस प्रविधि भिœयाउनेसम्मका कार्यमा यसको अहम् योगदान छ । राष्ट्रिय संकटको घडीमा नेपाल टेलिकम, नेपाल आयल निगम, खाद्य संस्थान, नेपाल विद्युत् प्राधिकरण र साल्ट ट्रेडिङजस्ता सार्वजनिक संस्थानहरुको मजबुत उपस्थितिले नै मुलुकमा आत्मनिर्भरता र नागरिक सुरक्षाको बलियो आधार तयार पारेको पुष्टि हुन्छ ।
२०२० भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङले हाल आफ्नो ६४ औं वार्षिकोत्सव मनाइरहेको छ । सामान्य अवस्थामा सञ्चारकर्मी, मन्त्रीगण र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भव्य समारोह आयोजना हुने गरे पनि यसपटक मुलुक प्राकृतिक विपत्तिको गम्भीर पीडामा रहेकाले संस्थाले कुनै वाह्य तामझाम गरेन । विपद्को घडीमा उत्सव मनाउनुभन्दा नागरिकको सेवा र आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथमिकता दि“दै संस्थाले नियमित कर्मचारी सम्मान, आन्तरिक पुरस्कार वितरण र परम्परागत् भीमसेन पूजामा मात्र वार्षिकोत्सवलाई सीमित ग¥यो । यसअघि पनि जेनजी आन्दोलन तथा अन्य विषम् परिस्थितिमा संस्थानले औपचारिकता त्यागेर नागरिक सेवामै आफूलाई समर्पित गर्दै आएको थियो ।











