हेटौँडा । विद्यालयको बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै हेटौँडा उपमहानगरपालिका–४ ले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने उद्यमशीलता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत ७५ जना विद्यार्थीले कपाल काट्ने, ब्युटी पार्लर र इलेक्ट्रिकल सम्बन्धी व्यावहारिक तालिम प्राप्त गरेका छन्।

समापन कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले अहिलेको प्रतिस्पर्धात्मक युगमा किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीलाई विद्यालय तहदेखि नै व्यावसायिक सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। सीपयुक्त शिक्षा नै आत्मनिर्भर, स्वरोजगार र दक्ष जनशक्ति उत्पादनको आधार भएको उनको भनाइ थियो।

उनले स्थानीय सरकारको मातहतमा विद्यालय आइसकेकाले शिक्षासँगै सीपमूलक कार्यक्रम सञ्चालनमा स्थानीय तहले थप प्राथमिकता दिनुपर्ने बताए।

वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा वडा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए। कपाल काट्ने, ब्युटी पार्लर र इलेक्ट्रिकल विषयमा २५/२५ जनाका दरले कुल ७५ जनालाई तालिम प्रदान गरिएको थियो।

हप्तामा दुई दिन बिदाको समयलाई उपयोग गरेर सञ्चालन गरिएको तालिम निकै उपयोगी रहेको सहभागी विद्यार्थीहरूले बताएका छन्। यस्ता कार्यक्रम नियमित सञ्चालन गर्न सके पढाइसँगै व्यावसायिक दक्षता हासिल गरी भविष्यमा स्वरोजगार बन्न सहज हुने उनीहरूको धारणा थियो।

कार्यक्रममा श्रमिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेलगायतको उपस्थिति रहेको थियो। शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।