हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको बालविकास कक्षा (ईसीडी) का लागि प्रकाश भुजेलले डेढ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार विद्यालयको अवलोकनका क्रममा भुजेलले बालविकास कक्षाको शैक्षिक सुधारका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्। पूर्णभक्त लामाको पहलमा आयोजित कार्यक्रममा भुजेलले आगामी सोमबारसम्म विद्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
भुजेलले आफूले बाल्यकालमा राम्रो शिक्षा हासिल गर्ने अवसर नपाएको उल्लेख गर्दै अन्य बालबालिकाले त्यस्तो समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको बताए। उनले देशका विकट क्षेत्रका ८–९ वटा विद्यालयलाई यसअघि पनि आर्थिक सहयोग गरेको जानकारी दिए।
विद्यालयको अवलोकनपछि भुजेलले तत्कालका लागि डेढ लाख रुपैयाँसम्म सहयोग गर्ने र आगामी दिनमा आवश्यकता परे थप सहयोगसमेत गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
भुजेलको विद्यालय अवलोकन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहाल, विद्यालय व्यवस्थापन समिति तथा वडासदस्य सञ्जय बिडारी, विद्यालय व्यवस्थापन समिति सदस्य गोविन्दप्रसाद न्यौपाने र बद्री लम्साल, सामाजिक व्यक्तित्व पूर्णभक्त लामा, विद्यालयका सहायक प्रधानाध्यापक वैकुण्ठ नेपाल, प्लस–२ संयोजक अनन्त अधिकारीलगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।











