मकवानपुर। हेटौँडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आयोजना, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको सहयोग र निर्माण व्यवसायी संघ मकवानपुरको व्यवस्थापनमा बिहीबारबाट निर्माण ठेक्का व्यवस्थापनसम्बन्धी दुई दिने तालिम आयोजना गरिएको हो ।
तालिममा निर्माण ठेक्काको बोलपत्र भर्ने, दर्ता प्रक्रिया, सम्झौता, निर्माण कार्य सम्झौता, गुणस्तरीय निर्माण, निर्माण लागत नियन्त्रण, समयमा निर्माण सम्पन्न गर्ने, निर्माण भएपछि भुक्तानी प्रक्रियाहरु, आवश्यक कागजातलगायतका बारेमा प्रशिक्षण दिइने भएको छ ।
तालिमको उद्घाटन गर्दै बागमती प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष उमानन्द कंडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न आग्रह गर्दै निर्माण व्यवसायीले आफ्नो क्षमता र योग्यता देखाउने समय आएको बताउनुभयो ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले आफू नेतृत्वमा आएपछि निर्माण व्यवसायीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै तालिम प्रदान गर्दै आएको बताउँदै स्वच्छ प्रतिस्पर्धाका लागि क्षमता वृद्धि आवश्यक भएको बताउनुभयो ।
उहाँले निर्माण व्यवसायीलाई ठेक्का प्रतिस्पर्धा गर्दा आवश्यक ज्ञान र सिप प्रदान गर्न आयोजित तालिम उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्दै निर्माण व्यवसायीको समस्या समाधानमा संघ सहयोगी बन्दै आएको बताउनुभयो ।
निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष खड्ग गोपालीले निर्माण क्षेत्र देश विकासको महत्वपूर्ण क्षेत्र भएपनि विविध चुनौतीको सामना गर्दै आएको भन्दै गुणस्तरीय निर्माणका लागि निर्माण व्यवसायीको क्षमता वृद्धि आवश्यक भएको बताउनुभयो ।
नेपाल निर्माण व्यवसायी महासंघका ईन्जिनियर सृजन दाहालले तालिममा सहभागी निर्माण व्यवसायीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरिने बताउनुभयो ।
ईन्जिनियर सुवासराज गिरी प्रशिक्षक रहनुभएको तालिममा मकवानपुरका एक सय जना निर्माण व्यवसायीको सहभागिता रहेको छ ।











