हेटौंडा/शैक्षिक परामर्शदाता संस्थाका सञ्चालकहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । संघीय सरकारले शैक्षिक परामर्शदाता संस्था सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै व्यवसायी आन्दोलित भएका हुन् ।
शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हेटौंडाको स्कुलरोडचोकमा व्यवसायीहरुले प्लेकार्ड लिएर प्रदर्शन गरेका छन् । शैक्षिक परामर्श नियमावली, २०८३ मा संघीय सरकारले शैक्षिक परामर्श संस्था सञ्चालनका लागि २५ लाख धरौटी राख्नुपर्ने, अध्ययन भिसामा विदेश पुगेका विद्यार्थी समस्यामा परे विदेश पठाउने परामर्शदाता संस्था जिम्मेवार हुनुपर्नेलगायत बुँदामा विमति रहेको शैक्षिक परामर्शदाता संस्थाहरुको संगठन इक्यान मकवानपुर अध्यक्ष बेलप्रसाद खतिवडाले जानकारी दिए ।
इक्यान मकवानपुर अध्यक्ष खतिवडाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले नियमावलीका केही प्रावधान अव्यवहारिक रहेको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरुले ‘दोषीलाई सजाय देऊ, सम्पूर्ण क्षेत्रलाई दण्ड नदेऊ,’ ‘शिक्षा स्वतन्त्रता हाम्रो अधिकार हो,’ ‘विदेश अध्ययनको अवसर सीमित नगर, नेपालको सम्भावना फराकिलो बनाऊ,’ ‘अव्यवहारिक नियम होइन, विद्यार्थीमैत्री नीति चाहिन्छ’ लगायत नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षाक्षेत्रको नियमन आवश्यक भए पनि त्यसले विद्यार्थीको अवसर र शैक्षिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्न नहुने बताए ।











