हेटौँडा/ हेटौँडा उपमहानगरपालिका ४ स्थित हेटौँडा क्याम्पसमा स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

बागमती विश्वविद्यालय अन्तर्गतको हेटौँडा क्याम्पसमा चालु शैक्षिक शत्रबाट स्नातकतहतर्फ बिएड, बिएएलएलबी, बिबिए, बिआइटी र बिएचएम विषयको अध्यापन सुरु भएसँगै नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं उनीहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले संविधानले दिएको उच्च शिक्षा प्रदेशको एकल अधिकार अनुसार बागमती विश्वविद्यालय स्थापना भई अध्यापन सुरु भएको बताउनुभयो । उहाँले विश्वविद्यालयले व्यावसायिक र पेशागत विषयलाई प्राथमिकतामा राखेर अध्यापन सुरु गरिएको भन्दै गुणस्तरीय शिक्षामा जोड दिने बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौँडा क्याम्पस बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनेसँगै नयाँ सम्भावनाहरुको ढोका खुलेको भन्दै प्राध्यापकहरु र विद्यार्थीहरुले क्याम्पसलाई अब्बल शैक्षिक गन्तव्य बनाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले क्याम्पस स्थापनामा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान प्रमुख लक्ष्य बनाएको भन्दै विद्यार्थीहरुलाई अनुशाशित भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्याम्पसका विभिन्न विषयक कार्यक्रम संयोजकहरु डा. अमित मिश्र, फ्रान्सिस आचार्य, सुजन तिमल्सिना, बासु राजभण्डारी, डा. लिलानाथ ढुङ्गेल, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, स्वतन्त्र विद्यार्थी युनियनका कावा सभापति भरत देवकोटा, विद्यार्थीहरु सुशीला तामाङ, अमृताकुमारी शाह, सविन दाहाल, यथार्थ बर्तौला, स्तुति कर्णलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस र स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बागमती विश्वविद्यालयतर्फका स्नातक तहका प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।