हेटाैंडा । काठमाडौंमा आश्रय लिएर बसेका रसुवा भाेटाेकाेशी बाढीपीडित परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भेटेर उनीहरूको समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री थापाले शनिबार काठमाडौंस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बसेका रसुवाका बाढीपहिरोबाट विस्थापित १७५ घरधुरीका ५२० जना पीडितसँग प्रत्यक्ष भेटघाट गरेका हुन् । भेटका क्रममा पीडितहरूले विपद्का कारण आफूहरूले भोग्नुपरेका समस्या र आवश्यकताबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री थापाले विपद्का कारण घरबार, सम्पत्ति र जीवनका आधार गुमाउनुपरेका पीडितहरूको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको बताए ।

उनले पीडित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउन प्रदेश सरकारले निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन् । साथै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने तथा आवश्यक सहयोग र समन्वयलाई प्रभावकारी बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मुख्यमन्त्री थापाले बताए ।