हेटौंडा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर क्षेत्र नम्बर–१ का सांसद् प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुगेर जनताको समस्या तथा गुनासो संकलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेको सचिवालय बैठकले क्षेत्रअन्तर्गत् वडामा पुगेर स्थानीयका समस्या पहिचान गरी समाधानका उपायसमेत खोज्ने निर्णय गरेको हो । अभियानअन्तर्गत् खानेपानी, विद्युत्, सडक, स्वास्थ्य उपचार, खाद्य तथा कृषिलगायत जनजीविकास“ग प्रत्यक्ष जोडिएका विषयमा नागरिकका गुनासा संकलन गरिने सचिवालय प्रमुख किशोर अर्यालले बताए । संकलन गरिएका समस्यालाई स्थानीय तह, प्रदेश वा संघीय सरकारमध्ये सम्बन्धित निकायमा पु¥याइ समाधानका लागि पहल गर्ने सचिवालयको योजना छ । अभियानलाई प्रभावकारी बनाउन चारदेखि पा“च वटा टोली बनाएर एकैपटक विभिन्न पालिका तथा वडामा पुग्ने तयारी गरिएको अर्यालले जानकारी दिए ।
रास्वपा मकवानपुर जिल्ला उपसभापति सुरेश थापाले सांसद स्वयम् सबै नागरिकको घरदैलोमा पुग्न सम्भव नभएकाले सचिवालयको टोलीमार्फत् जनताको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्धेश्यले अभियान अघि बढाउन लागिएको बताए । अभियान सञ्चालन गर्दा रासपा मकवानपुर जिल्ला कमिटी तथा सम्बन्धित पालिका कमिटीस“ग समन्वय गरिने उनले जानकारी दिए । सांसद् गौतमको सचिवालयमा २५ सदस्य रहेको विषयमा सामाजिकसञ्जालमा प्रधानमन्त्रीको सचिवालयजस्तै ठूलो संरचना बनाइएको भन्दै भइरहेको आलोचनाप्रति पनि सचिवालय प्रमुख अर्यालले स्पष्ट पारेका छन् । उनका अनुसार सचिवालयका २५ सदस्यमध्ये एक जनामात्र राज्यबाट तलब सुबिधा प्राप्त गर्ने स्वकीय सचिव हुन् भने अन्य २४ जना स्वयम्सेवीरुपमा आबद्ध छन् । सांसद्ले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न र जनतास“ग प्रत्यक्ष जोडिन ठूलो टिम आवश्यक भएकाले सचिवालय विस्तार गरिएको उनको भनाइ छ ।











