रौतहट/भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसान आन्दोलनरत रहेका बेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित ब्रोइलर कुखुरा लोड गरिएका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको आरोप लागेको छ ।

रौतहटको परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्ममा उत्पादित नेपाली ब्रोइलर कुखुरा बोकेका तीन वटा पिकअप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको घटनापछि स्थानीय व्यवसायी तथा किसानहरु आक्रोशित भएका छन् । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीमा बागमती प्रदेश ०१–०२७ च ८४८३, ना. ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका पिकअप छन् ।

खुला सीमा तथा सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी नहु“दा भारतबाट अवैधरुपमा कुखुरा भित्रिने क्रम बढेको भन्दै जिल्ला कुखुरा व्यवसायिक किसान संघ विगत तीन सातादेखि आन्दोलनरत् छ । किसानहरुले भारतीय कुखुराको अवैध आयात नियन्त्रण गर्न माग गर्दै आए पनि सुरक्षा निकायले त्यसतर्फ प्रभावकारी कदम चाल्नुको सट्टा स्वदेशमै उत्पादित कुखुरालाई समेत अवैध भन्दै नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।

जिल्ला कुखुरा व्यावसायिक किसान संघका अनुसार फार्म दर्ता, अनलाइन इन्ट्री, चल्ला खरिदको बिल, दाना खरिदको वैध बिल तथा भेटेरिनरी प्रमाणपत्रलगायत आवश्यक कागजात हु“दाहु“दै पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर–११ गण रौतहटबाट खटिएको टोलीले कुखुरा बोकेका गाडी नियन्त्रणमा लिएको हो । संघ सचिव राधेश्याम साहले नेपालमै लगानी गरी व्यवसाय सञ्चालन गर्दै आएका किसानको उत्पादन तथा आवश्यक कागजातलाई समेत अवैध भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाउनु कानुनी उपहास भएको आरोप लगाए । ‘वास्तविक तस्करी नियन्त्रण गर्नुको सट्टा स्वदेशी किसान तथा व्यवसायीलाई दुःख दिने काम भइरहेको छ,’ उनले भने ।

लामो समयसम्म जीवित कुखुरा नियन्त्रणमा राख्दा मर्ने तथा नष्ट हुने अवस्था आउनसक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । यसबाट लाखौंको क्षति हुनसक्ने भन्दै कुखुरा मरे वा नष्ट भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि संघ सचिव साहले उठाएका छन् । किसान तथा व्यवसायीहरुले भारतीय कुखुराको अवैध आयात नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने तर आवश्यक कागजातसहित ढुवानी भइरहेको स्वदेशी उत्पादनमाथि अनावश्यक कारबाही नगर्न सम्बन्धित निकायस“ग माग गरेका छन् ।