हेटौंडा/हेटौंडा–११, थानाभ¥याङस्थित बाल सुधारगृहमा रहेका बालकहरुका लागि किशोर सचेतना शिक्षा कार्यक्रम भएको छ । बिहीबार इन्सेक बागमती प्रदेश र प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल बागमती प्रदेशको आयोजना तथा सुनौलो शिक्षा नेपालको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष तथा सञ्जाल सल्लाहकार कमलकुमार बिश्वकर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले बाल सुधारगृहमा रहँदा पनि सकारात्मक सोच र आत्मविश्वास कायम राख्न आग्रह गरे । उनले एकअर्कासँग मिलेर बस्न, सकारात्मक भावना साटासाट गर्न र गल्तीबाट पाठ सिकेर नयाँ जीवन सुरु गर्न सकिने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधबप्रसाद काफ्लेले आपसी प्रेम, सद्भाव र अनुशासनसाथ बस्न आग्रह गर्दै विगतका गल्तीलाई आत्मसात् गरी भविष्यलाई उज्ज्वल बनाउन प्रेरित गरे । उनले कानुनप्रति सचेत रहँदै आगामी जीवन सही बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए । गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष बिश्वकर्माले जीवनमा सही निर्णय, जिम्मेवारी र भविष्य निर्माणका विषयमा प्रेरणामूलक प्रस्तुति दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रनि कृष्ण दासले साइबर अपराध, सामाजिकसञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल सुरक्षाबारे जानकारी गराए । कार्यक्रममा बाल सुधारगृह प्रमुख वासुदेव यादब, नायब सुब्बा प्रदीप गौतम, हिमराइट्स मकवानपुर संयोजक तथा सञ्जाल सदस्य कुमारी वाइबा, मानवअधिकारका लागि महिला एकल महिला समूह मकवानपुर अध्यक्ष तथा सञ्जाल सदस्य शारदा चौलागाईं, वार्डेन श्रवणकुमार पुडासैनी, सञ्जाल सदस्य बिनोद ढकाललगायतको उपस्थिति थियो । हाल बाल सुधारगृहमा ८४ जना छन् ।