1. हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित मकवानपुरकै पुरानो भुटनदेवी माध्यमिक विद्यालयपरिसरमा आधुनिक आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने पक्का भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले परियोजनाको डीपीआर तथा निर्माणका लागि बजेट विनियोजन गरेसँगै हेटौंडालाई सूचनाप्रविधिको केन्द्रका रुपमा विकास गर्ने आधार तयार भएको हो ।
    वडा कार्यालयको पहल तथा समन्वयमा अघि बढाइएको योजनाका लागि प्रदेश सरकारले आवश्यक निर्णय गरेको वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । ‘स्थानीय तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले यस कदमलाई हेटौंडाको भविष्यसँग जोडिएको महत्वपूर्ण योजनाका रुपमा लिएका छन्,’ उहाँले भन्नुभयो ।
    निर्माण हुन लागेको आईटी पार्कले सूचना तथा प्रविधिका नयाँ आयाम भित्र्याउने, अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा युवाका लागि रोजगारी सिर्जना गर्ने अपेक्षा तथा विद्यालय शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिकरुपमा सूचनाप्रविधिमा सहज पहुँच विस्तारका साथै खोज, अनुसन्धान, प्रयोग तथा नवप्रवर्तनलाई समेत प्राथमिकता दिइने जनाइएको छ ।
    भुटनदेवी माध्यमिक विद्यालय त्यही विद्यालय हो, जसलाई मेघा विद्यालयका रुपमा विकास गर्ने उद्धेश्यसहित पूर्वाधार निर्माण कार्य पनि अघि बढाइएको छ । हेटौंडा उपमहानगरपालिका र विद्यालयको लागत साझेदारीमा करिब ३ करोड लागतमा १२ कोठे तीनतले भवन निर्माणका लागि टेण्डर प्रक्रियासमेत सम्पन्न भइसकेको छ । स्थानीय तह, प्रदेश सरकार र विद्यालयबीच सहकार्यले हेटौंडाको शैक्षिक तथा प्रविधि विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ ।
    हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने प्रक्रिया अघि बढेको हो । शिक्षा मन्त्रालयले बिग स्कुलको अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफलसहित निर्णय गरिएको हो । २०१६ सालमा स्थापना भएको भुटनदेवी मावि हेटौंडा नगरकै पहिलो विद्यालय पनि हो ।
    ती विद्यालयहरुबाट हरेक वर्ष प्रवेश परीक्षा दिएका एक हजार पाँच सय विद्यार्थीलाई भर्ना लिन सकिएको छैन । पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४ हजार ५ सय विद्यार्थी विद्यालयमा हुने थिए । हेटौंडा–४ स्थित ती माविलाई मेघा विद्यालय बनाउने उद्धेश्यसाथ आवश्यक प्रक्रिया पूरा गर्ने तयारीमा जुटिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
    सिग्देलले आवश्यक प्रक्रिया अगाडि बढाउन दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष, दुवै विद्यालयका प्रधानाध्यापकसहितले नगर प्रमुख लामासमक्ष पत्र पेश गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष सिग्देल हेटौंडा, बागमती प्रदेशको राजधानी भएका कारण मेघा विद्यालय सञ्चालन गरी हेटौंडालाई शैक्षिक हब बनाउने गरी अगाडि बढ्न खोजिएको बताउनुहुन्छ । अध्यक्ष सिग्देलले भन्नुभयो–सधैं एउटै अवधारणाबाट पठनपाठन हुँदा शिक्षा क्षेत्रको विस्तार हुन सकेन । यहाँ सामुदायिक विद्यालयमा पढ्न चाहने विद्यार्थीहरु सीमित सिटका कारण पढ्न पाएका छैनन् ।
    भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । आधुनिकमा व्यवस्थापन, विज्ञान विषयमा जोड २ सम्म र भुटनदेवीमा इञ्जिनियरिङको अध्यापन हुँदै आएको छ । भुटनदेवीमा इञ्जिनियरिङतर्फ कक्षा ९–१२ मा करिब २ सय जना विद्यार्थी अध्ययनरत् छन् ।
    उक्त काम चुनौतीपूर्ण भए पनि दुवै विद्यालय एकीकृत गरी राम्रोसँग व्यवस्थापन गर्नसके नमूना विद्यालयका रुपमा परिचित गर्न सकिने हेटौंडा उपमहानगर मेयर मीना लामाले बताउनुभयो । मेयर लामाले हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्न नगरपालिकाले सधैं साथ दिने प्रतिवद्धता जनाउनुभएको छ । नयाँ पुस्ताले प्रविधिलाई जोडेर अघि बढ्न जरुरी रहेको बताउँदै नगर प्रमुख लामाले उक्त कार्यले हेटौंडाको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिनुभयो । दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने र हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने दाबी गरिएको छ ।
    प्रदेश सरकारले प्रदेशका तीन विद्यालयलाई बृहत् विद्यालयका रुपमा स्थापित गर्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले ३ वर्षअघि ५७ अर्ब ७२ करोड बजेट सार्वजनिक गर्दा बृहत् विद्यालयलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेशको राजधानी हेटौंडाबाट हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय बृहत् विद्यालयका रुपमा छनौट भएको छ ।