काठमाडौं÷उच्च अदालत पाटनले नाबालक छोराको शिक्षा र सर्वोत्तम हितलाई प्राथमिकता दि“दै विदेशी नागरिक मोनिका रोमेइकोलाई छोराको एसईई परीक्षा र नतिजा प्रकाशन नहु“दासम्म नेपालमा बस्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइ“केलको संयुक्त इजलासले मोनिकाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायका नाममा यस्तो आदेश दिएको हो । मोनिकाका छोरा इजा रोमेइको नुर मोहम्मद सन् २०२० देखि कास्कीको पोखरा महानगरपालिकास्थित तालबाराही माध्यमिक विद्यालयमा अध्ययनरत् छन् । उनी हाल कक्षा–१० मा अध्ययनरत् छन् र एसईईको तयारीमा छन् ।

छोराको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरे पनि आमाको हकमा संरक्षकका रुपमा आवश्यक आश्रित भिसा नवीकरणको सिफारिस नगरिएपछि मोनिका अदालत पुगेकी थिइन् । उनले छोराको संरक्षण तथा अध्ययनलाई निरन्तरता दिन आफूलाई नेपालमा बस्न अनुमति दिन माग गरेकी थिइन् । अदालतले बालकले कक्षा–५ देखि कक्षा १० सम्म नेपालमै निरन्तर अध्ययन गरिरहेको र हाल एसईईको तयारीमा रहेको तथ्यलाई महत्वपूर्ण आधार मानेको छ । आमालाई नेपालबाट बाहिरिनुपर्ने अवस्था आए त्यसले नाबालकको संरक्षण र शिक्षामा प्रतिकूल असर पर्नसक्ने अदालतको ठहर छ ।

अदालतले बालकको एसईईमा सहभागी भइ नतिजा प्रकाशन हुने समयसम्म मोनिकाको भिसा कानुनबमोजिम नियमित गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ । त्यसका लागि लाग्ने दस्तुर लिनसमेत आदेशमा भनिएको छ । मोनिकालाई नेपाल छाड्नुपर्ने अवस्था आए त्यसबारे पर्याप्त समयअघि सूचना दिनुपर्ने व्यवस्था गर्न पनि अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ । आदेशस“गै छोराको शिक्षा र संरक्षणलाई प्राथमिकता दि“दै मोनिकालाई तत्काल नेपाल छाड्नुपर्ने बाध्यताबाट राहत मिलेको छ ।