हेटौंडा/कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआइटी) ले तीनसय आठ जना विद्यार्थीलाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूको क्षमता तथा ज्ञानको स्तर मूल्यांकन गर्न लिखित परीक्षा तथा लोकसेवा शैलीको प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरि छात्रवृत्ति प्रदान गरिएको सिआइटीले जनाएको छ ।
परीक्षामा सहभागी विद्यार्थीहरूले प्राप्त गरेको अंकका आधारमा छात्रवृत्ति प्रदान गरिएको हो। आर्थिक अभावका कारण गुणस्तरीय कम्प्युटर शिक्षा हासिल गर्न कठिनाइ हुने गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिँदै सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्षमता विकास गर्दै प्रविधिमैत्री शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको सिआइटीका प्रवन्ध निर्देशक दिनेश रिजालले बताए ।
सिआइटीले एक रुपैयाँ फम शुल्क लिएर प्रत्यक वर्ष परीक्षा मार्फत उत्कृष्ट नतिजा ल्याउने गरिब तथा जेहेनदार विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि छात्रबृत्ति दिँदै आएको छ । उक्त अभियान अन्तर्गत हालम्म दश हजार बढि विद्यार्थीले छात्रबृत्ति सुविधा पाइसकेकाे प्रवन्ध निर्देशक रिजालले बताए ।
यस वर्षको परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेका कलैया ६, बाराका सचिन यादवले पूर्ण छात्रबृत्ति पाएका छन् । अर्का उत्कृष्ट नतिजा ल्याउने अशोक पालले ८४ प्रतिशत छात्रबृत्ति पाएका छन् । बिगत् १८ वर्षदेखि सञ्चालित सिआइटीले विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावहारिक तथा रोजगारमुखी सीप प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको प्रवन्ध निर्देशक रिजालले बताए ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले एक वर्षे एडभान्स डिप्लोमा कम्प्युटर सम्बन्धी अध्ययन तथा तालिममा सहभागी हुने अवसर पाउनेछन् । उक्त कार्यक्रम मार्फत विद्यार्थीलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञानसँगै व्यवहारिक तथा प्राविधिक सीप प्रदान गरिने सिआइटीले जनाएको छ ।
सिआइटीले छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यार्थी छनोट तथा मूल्यांकनका लागि २०८३ साउन २३ गते परीक्षा सञ्चालन गरी असार २७ गते नतिजा सार्वजनिक गरेको हो ।











