कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि उत्पन्न विवादका क्रममा गाउँपालिकाका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति कर्मचारीहरू एकजुट भएका छन् ।
गाउँपालिकाको आ.व. २८२/०८३ मा प्रदेश विशेष अनुदानबाट कैलाश ८ मा सञ्चालित पाख्रे बृहत खानेपानी तथा सरसफाइ योजना योजनाको काम गर्ने जिम्मा लिएको श्री सन्ध्या निर्माण सेवा, थाहा–१० मकवानपुरले निर्माणको जिम्मा लिए पनि तोकिएको जिम्मेवारी पूरा नगरेपछि गाउँ कार्यपालिकाको निर्णयअनुसार निर्माण सेवामाथि कारबाहीका लागि सिफारिस गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही विषयलाई लिएर निर्माण कम्पनीका सञ्चालक टाकाराज थापाले उच्च अदालत पाटन, हेटौंडा इजलास परिसरमै गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख ई. अनिलप्रसाद जोशीलाई तथानाम गालीगलौज गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको गाउँपालिकाको विज्ञप्तिमा जनाइएको छ । घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको बैठक बसी उक्त व्यवहारप्रति घोर भत्र्सना गरिएको छ ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले सार्वजनिक सेवामा खटिएका कर्मचारीमाथि कार्यसम्पादनकै क्रममा गालीगलौज, धम्की वा दुव्र्यवहार हुनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताइन् ।
“कर्मचारीले कानून र प्रचलित प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद विषय हो । सार्वजनिक सेवामा रहेका कर्मचारीमाथि व्यक्तिगत तहमा हुने गालीगलौज, धम्की तथा दुव्र्यवहारले कर्मचारीको मनोबल मात्र कमजोर बनाउँदैन, समग्र सेवा प्रवाहमा समेत प्रतिकूल असर पार्छ,” प्रमुख प्रशासकीय अधिकृत खत्रीले भनिन् ।
उनले कर्मचारीको मनोबल उच्च राख्दै सुरक्षित वातावरणमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छिन् ।
“कानूनअनुसार हुने कारबाहीको प्रक्रियालाई सम्मान गर्दै संयमित र सभ्य ढंगबाट आफ्ना असहमति राख्नुपर्छ तर कर्मचारीमाथि हुने यस्ता घटनाविरुद्ध सम्पूर्ण कर्मचारी एकजुट भएर कानूनी बाटोबाट अघि बढ्छौँ,” उनले भनिन् ।
यस्ता गतिविधि माथि नियमानुसार कारबाहीको माग गर्दै सम्बन्धित सबै पक्षलाई सुरक्षित कार्य वातावरण निर्माणमा सहयोग गर्न अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।











